निर्वाचनविरोधी गतिविधिमा संलग्न ४६ जना पक्राउ

 पब्लिक संवाददाता      मङ्लबार, मंसिर १९, २०७४      0

चितवन, मंसिर १९ । चितवनमा मंसिर २१ गते हुने चुनावलाई शान्तिपूर्ण बनाउन निर्वाचन सुरक्षामा तालीमप्राप्त कुकुरको प्रयोग गरिएको छ ।

चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार सोमबारदेखि हेटाँैडाबाट तालीम प्राप्त कुकुर ल्याएर सुरक्षा कडा पारिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई सुरक्षित र भयरहितरुपमा सम्पन्न गर्न जिल्ला प्रहरी कार्यालय चितवनले अवलम्बन गरेका सुरक्षा रणनीतिअनुसार जिल्लाको शंकास्पद वस्तु खोजीका लागि कुकुरको प्रयोग गरिएको हो।

विभिन्न सात स्थानमा खोजी अभियान चलाउँदा भरतपुर महानगरपालिका वडा नम्बर ५ कल्याणपुरस्थित नहरको झाँडीमा लुकाइ राखेको अवस्थामा कटुवा बन्दुक एक नाल बरामद गरिएको ढकालले जानकारी दिए।

उक्त बन्दुकमा प्रयोग हुने गोली एक राउन्ड र बम बनाउन प्रयोग हुने बारुदको धुलो १५ ग्रामसमेत फेला पारिएको छ। सो घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

निर्वाचनपूर्वको सुरक्षा रणनीतिअनुसार जिल्ला सुरक्षा समितिले सुरु गरेको खोजी अभियानका क्रममा विभिन्न आपराधिक क्रियाकलाप र निर्वाचनविरोधी गतिविधिमा संलग्न गरी ४६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यसमा निर्वाचनविरोधी गतिविधिमा संलग्न विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २५ जना रहेको ढकालले जानकारी दिए।

विभिन्न ठाउँमा नक्कली बम राखेर तर्साउनेक्रम बढिरहेको भन्दै उनले मतदातालाई ढुक्कसँग निर्वाचनमा भाग लिने वातावरण तयार गर्न प्रहरीले कुनै कसर बाँकी नराख्ने बताए। रासस

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।