दोलखा । भीमेश्वर गुठीको जग्गामा वर्षौदेखि बसोबास गर्दै आएका दोलखाको भेड्पुवासीले विनाशकारी भूकम्प गएको एकतीस महिनापछि बल्ल सरकारी अनुदान वापतको रकम पाउने भएका छन् ।
दोलखाको मेलुङ गाउँपालिका–४ (साविकको भेड्पु गाविस) का भूकम्प पीडितका लागि हालै मात्र पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयले अनुदानको पहिलो किस्ता निकासा गरेको छ ।
भेड्पुका एक हजार ३१३ घरधुरी परिवार लाभग्राहीको सूचीमा सूचिकृत भएकोमा गुनासोबाट सम्बोधन भई आएका २६० गरी जम्मा एक हजार ५७३ परिवार लाभग्राही सूचीमा सूचिकृत रहेको वडा अध्यक्ष छत्रबहादुर तामाङले बताए ।
लाभग्राही सूचीमा रहेकामध्ये एक हजार ५०७ जनासँग अनुदान सम्झौता भइसकेको उनले बताए ।
अनुदान सम्झौता भएकामध्ये प्रक्रिया पुगेका एक हजार ५०७ जनाको नाममा पहिलो किस्तावापतको रकम निकासा भइसकेको छ ।
भेड्पुका करिब १८ सय घरपरिवारले वर्षौदेखि हकभोग गर्दै आएको जमिन आफ्नो नाममा नापी गरी लालपूर्जा दिनुपर्ने माग सरकारसँग लामो सयमदेखि राख्दै आएको अध्यक्ष तमाङले जानकारी दिए ।
लालपूर्जा नभएकै कारण भेड्पुका भूकम्प पीडितले स्थायी आवास निर्माणका लागि सरकारी अनुदान पाउन सकेका थिएनन्।
गुठी र मोहीको विवादका कारण भेड्पुको करिब १८ हेक्टर जमिन हालसम्म व्यक्तिको नाममा नापी हुन सकेको छैन ।
राजनीतिक दलहरुसमेतको सहमतिमा मन्त्रिपरिषद्को बैठकले गुठीको जग्गाको विषयमा सर्जिमिनको आधारमा आवास पुनःनिर्माण गर्न सकिने निर्णय गरेको छ ।
सरकारले तत्कालका लागि गुठीको जग्गाको दायाँबायाँका सँधियारहरुले गरेको सर्जिमिनका आधारमा गाउँपालिकाका जनप्रतिनिधिहरुले प्रमाणित गरिदिएपछि आवास पुनःनिर्माणका लागि बाटो खुल्ला गरिदिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय दोलखाका प्रमुख सागर आचार्यले बताए ।