सञ्चयकोषले ६ सय ८८ मेगावाट बेतन कर्णाली जलविद्युत् आयोजनाको काम अगाडि बढायाे

 पब्लिक संवाददाता      सोमवार, मंसिर १८, २०७४      0

काठमाडाैँ  कर्मचारी सञ्चयकोषले ६ सय ८८ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजनाको काम अगाडि बढाएको छ । सुर्खेत र अछाम जिल्लाको सिमानामा निर्माण हुने आयोजनाको सम्भाव्यता र विस्तृत परियोजना प्रतिवेदन डिपिआरको काम अगाडि बढेको हो । आयोजना निर्माणकार्यलाई अगाडि बढाउन सञ्चयकोषले एक मिहनाभित्र टेन्डर आह्वान गर्न लागेको कोषका कार्यबाहक प्रशासक दीपक रौनियारले बताए ।

उनका अनुसार २ वर्षभित्र सम्भाव्यता र डिपिआरको काम सम्पन्न गर्ने तयारी भएको छ । सुर्खेतको साबिकका गाविसहरू विद्यापुर, बेतान, छाप्रे, गुटु र बिजौरा तथा अछामको साबिकका गाविसहरू ढुंगा चाल्ना, नारायणपुर, तुर्माखाड, एवं कैलालीको सुगरखालमा रहने गरी कर्णाली नदीमा अर्धजलाशय प्रकृतिको आयोजना अगाडि बढाउने अनुमति दिइएको छ । अर्धजलाशययुक्त आयोजना विद्युत्को उच्चतम माग हुने समयमा धेरै उपयोग हुने देखिएको छ । प्रि–कन्स्ट्रक्सन, पहुँचमार्ग निर्माण र डिपिआरको काम सँगसँगै जाने कार्यतालिका रहेको उनले बताए ।

‘माथिल्लो तामाकोसीपछि कुनै ठूलो आयोजना निर्माण भएन, अब अर्धजलाशययुक्त आयोजनाको आवश्यकता छ,’ रौनियारले भने, ‘६ सय ८८ मेगावाटको आयोजना निर्माण गर्न सञ्चयकोष सक्षम छ ।’ पिक आवरमा विद्युत्को माग धान्न कठिन भएकाले दीर्घकालीन समाधानका लागि बेतन कर्णाली निर्माणमा सञ्चयकोष अघि बढेको उनले बताए ।

पहिलो दुई वर्ष सर्वेक्षणको काम सम्पन्न गर्ने र पाँच वर्षभित्र निर्माण सुरु गर्ने कम्पनीको तयारी छ । नेपाली लगानी र प्रविधि प्रयोग गरी अगाडि बढाउन लागिएको आयोजनामा निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र कोषमा कोष कट्टी गर्दै आएका करिब ६ लाख सञ्चयकर्तालाई लगानी गर्ने अवसर प्रदान गरिनेछ ।

कम्पनीमा कर्मचारी सञ्चयकोषको १५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको १० प्रतिशत गरी ३५ प्रतिशत प्रमोटर सेयर रहनेछ ।

त्यस्तै व्यक्तिगत ६ लाख सञ्चयकर्तालाई ४० प्रतिशत, प्रभावित स्थानीयका लागि १० प्रतिशत र १५ प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ । कोषले गत वर्ष १ अर्ब २९ करोड इक्विटी लगानी गर्ने निर्णय गरिसकेको छ । यो वर्षको नाफाबाट पनि लगानी छुट्याउने रौनियारले बताए ।

आयोजना निर्माणमा ७० देखि ८० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । सञ्चयकोषले नाफाको ८० प्रतिशत आफ्ना सञ्चयकर्तालाई प्रदान गर्दै आएको छ । तर, अब त्यस्तो नाफा वितरण नगरी अलग्गै खातामा जम्मा गरेर बेतन कर्णालीमा लगानी गर्न लागेको उनले जानकारी दिए ।

सञ्चयकर्ताहरूले सो नाफाबापत पाउने रकमको ब्याजसमेत जोडेर सोबराबरको सेयर उपलब्ध गराउने कोषले तयारी गरेको छ । सञ्चयकोषसँग हाल २ खर्ब ५६ अर्ब रुपैयाँको कोष छ । जसबाट उसले वार्षिक डेढ अर्ब कमाइ गर्ने गरेको छ ।

कोषले सञ्चयकर्ता लगानीकर्ताको लगानी सुनिश्चितता गर्न मुनाफाको रकमलाई सेयरमा परिवर्तन गर्नेसम्बन्धी विनियमावली जारी गरिसकेको छ । यही रकमलाई जम्मा पर्दै सञ्चयकर्ताको तर्फबाट ४० प्रतिशतको लगानी सुनिश्चितता गरिने रौनियारले बताए । आव ०७२/७३ र अघिल्लो आव ०७३/७४ बाट गरी हालसम्म बेतन कर्णालीका लागि कोषले ३ अर्बबराबरको रकम अहिले नै सुरक्षित गरिसकेको छ । ४ वर्षभित्र विभिन्न वित्तीय उपकरण (रकम उठाउने योजना) जारी गरेरसमेत आवश्यक रकम जुटाउने रौनियारको दाबी छ ।

कम्पनीले काम थाल्यो

– बेतन कर्णाली आयोजना निर्माण गर्न कोषले गत साउनमा ‘बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेड’को नाममा कम्पनी स्थापना गरिसकेको छ । कर्मचारी सञ्चयकोषमा नै कार्यालय रहने गरी कम्पनीको काम अगाडि बढाइएको र हालसम्म कुनै सिइओलाई नियुक्ति पनि गरिएको छैन । कोषकै कर्मचारीले सबै काम गरिरहेको छ । ६ जना सञ्चालक रहने कम्पनीको बोर्डमा सञ्चयकर्ता प्रमोटरको तर्फबाट ३ जना र सर्वसाधारण तथा प्रभावितबाट थप ३ जनाको नियुक्ति हुनेछ । कम्पनी स्थापना भएसँगै प्रारम्भिक अध्ययनको काम ३ महिना अघिदेखि नै सुरु भइसकेको रौनियारले बताए ।

– दैनिक ६ घन्टा पानी सञ्चय गरेर (पिकिङ–अर्धजलाशय) विद्युत्को उच्च माग हुँदा सञ्चालन गर्न सकिने गरी आयोजनाको डिजाइन तयार गरिनेछ । कम्पनीको अधिकृत पुँजी २० अर्ब, जारी पुँजी १० अर्ब र चुक्ता पुँजी १५ करोड रुपैयाँ छ। नयाँपत्रिका दैनिकबाट 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।