धनगढी । कांग्रेस नेतृ तथा प्रतिनिधि सभा कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका उम्मेद्वार डा.आरजु राणा देउवाले वाम गठबन्धनलाई भोट हाल्नु भनेको देशमा गरिबी निम्त्याउनु हो भनेकि छिन्।
‘विकास र समृद्धिको लागि नेपाली कांग्रेस नै चाहिन्छ,’ नेतृ डा. राणाले भनिन्। उनले कम्युनिष्टहरुले जनतालाई सुखी र सम्पन्न नबनाउने कुराको उदाहरण प्रस्तुत गर्दै भनिन्,’कम्युनिष्ट शासन भएको उत्तर कोरिया झन् झन् गरिब हुँदैछ र लोकतान्त्रिक व्यवस्था अंगालेको दक्षिण कोरीयामा तीव्र आर्थिक वृद्धि भइरहेको छ,अब भन्नुस् के रोज्ने ?’
आइतबार धनगढी उपमहानगरपालिकाका दर्जन बढि चुनावी सभामा बोल्दै नेतृ देउवाले मंसिर २१ गतेको निर्वाचनमा निर्भयतापूर्वक नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न मतदातालाई आग्रह गरेकी छिन् ।’बिहान समयमै गएर विवेक प्रयोग गरि मतको सदुपयोग गर्नुहोला’ उनले भनिन्। मतदाताहरुलाइ नआत्तिइकन रुखमा मत खसाल्नुहुन अनुराेध गर्दै उनेले भनिन्,’यस क्षेत्रको विकास कांग्रेसले गर्छ,ढुक्क हुनुहोस्।’
धनगढी उपमहानगरपालिकामा डुबानको समस्या भएको भन्दै उनले नदी कटान रोकथाम र डुवान नियन्त्रणका लागि ठूला आयोजनाहरु सञ्चालन गर्नुपर्ने बतार्इन्। ‘डुबान र कटानका लागि जिल्लाका इन्जिनियरसँग कुराकानी भइरहेको छ’उनले भनिन्। स्थानीय सरकार, प्रदेश सरकार र राष्ट्रिय सरकारको समन्वयमा समस्या सामाधान गर्न सक्नेमा उनकाे ठहर थियाे।
उपमहानगरपालिकामा नेपाली कांग्रेसका प्रतिनिधि भएकोले पनि प्रदेश र केन्द्रमा पनि कांग्रेसकै प्रतिनिधि भए विकास निमार्णले गति लिने उनको भनाइ थियो। ‘विचार मिल्ने,एउटै उद्देश्य भएको फुटबल टोलीले छिट्टै गोल हान्न सक्ने उनकाे जिकिर थियाे। नेतृ डा. देउवाले भनिन्, ‘मेयर र उपमेयर कांग्रेसकै भएकोले आफूले जिते क्षेत्र नम्बर ५ मा सोचे अनुसार विकास गर्न सकिन्छ।’
पहिलो पटक कैलाली ५ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेकी डा. आरजुले भनिन् ‘मैले चुलोमा खाना बसाएर खाना पाकिसके पछि मात्रै बाहिर निस्कने संस्कार पाएको छु। मैले बोलेका बाचा जसरी पनि पूरा गर्छु, ढुक्क हुनुहोस्।’
उपमहानगरपालिकाका थुप्रै वस्तिमा लाजपुर्जा सम्मस्या रहेको भन्दै नेतृ देउवाले यो समस्याप्रति गम्भिर रहेको बताउनुभयो। ‘सुकुम्बासी र लालपुर्जा नभएका थुप्रै बस्तिहरु छन्’ उनले भनिन् ‘म सबै समस्याहरुप्रति गम्भीर छु,समस्या सामाधानका लागि तत्काल पहल थाल्नेछु ।’ चुनाव आउनै लाग्दा नेतृ देउवाले प्रचार प्रसार पनि तीव्र पारेकी छन्।
कैलाली क्षेत्र नम्बर ५ को निर्वाचनलाई राष्ट्रिय स्तरबाट पनि अत्यन्त उत्सुकतापूर्वक हेरिएको छ।