निर्वाचनको तयारी पुरा, ढुक्क भएर मतदान गर्न निर्वाचन अायाेगकाे अाग्रह

 पब्लिक संवाददाता      आइतवार, मंसिर १७, २०७४      0

काठमाडौं, मंसिर १७ । दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको तिथि नजिकिंदै गर्दा निर्वाचन आयोगले मौनअवधिमा पालाना गर्नु पर्ने आचारसंहिताबारे सचेत गराएको छ।

आयोगले निर्वाचनको तयारी लगभग सकिएको भन्दै ढुक्क भएर मतदान गर्न पनि आग्रह गरेको छ। ४५ जिल्लामा हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको लगभग तयारी सकिएको छ।

निर्वाचन सामग्री मतदान केन्द्रमा पुगिसकेका छन भने कर्मचारीहरुले मतदाता परिचयपत्र वितरणको तयारी थालेका छन् ।

निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६ सय ६३ उम्मेद्वार चुनावी मैदानमा छन् भने प्रदेशसभा तर्फ सातै प्रदेशका गरी २ हजार ८ सय १९ जना प्रतिस्पर्धामा उत्रिएका छन्।

दोस्रो चरणको निर्वाचनबाट प्रतिनिधिसभाका लागि १२८ र प्रदेशसभाका लागि २५६ निर्वाचित हुनेछन्। निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताहरुले भाग लिदैंछन्।

सोमवार मध्य रातीपछि मौनअवधि समेत सुरु हुने भएकाले आचारसंहिता विपरितका काम नगर्न आयोगले सचेत गराएको छ।

निर्वाचनमा युरोपेली युनियन, कार्टर सेन्टर लगायतका अन्र्तराष्ट्रिय संस्थाका ४ सय जना पर्यपेक्षक खटिनेछन् । राष्ट्रियरुपमा ५२ संस्थाका ४५ हजार पर्यवेक्षकहरुले अनुमति पाएका छन् ।

निर्वाचनको लागि १५ हजार ३ सय ४४ मतदानकेन्द्र तोकिएको छ । प्रत्येक मतदानकेन्द्र ७ देखि ९ जनाको दरले १ लाख ७५ हजार मतदान कर्मचारी खटाउने आयोगले तयारी गरेको छ ।

निर्वाचनमा २ लाख ७२ हजार कर्मचारी खटिनेछन् । सरकारले सुरक्षाको पूर्णप्रत्याभूति गरेकाले ढुक्क भएर मतदान गर्न आयोगले आग्रह गरेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।