संरक्षण अभावले पुरानो आगेजुङ साङछयो बौद्ध गुम्बा ओझेलमा

 पब्लिक संवाददाता      आइतवार, मंसिर १७, २०७४      0
पूर्वकै सबैभन्दा पुरानो आगेजुङ साङ्छयो गुम्बा ।

मंसिर १७ फिदिम : धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको पूर्वकै सबैभन्दा पुरानो आगेजुङ साङछयो बौद्ध गुम्बा प्रचारप्रसार एवं संरक्षण अभावले ओझेलमा परेको छ । फालेलुङ गाउँपालिका १ लसुनेमा अवस्थित यो गुम्बा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मात्र नभई प्राकृतिक सुन्दरताको अनुपम नमुनासमेत हो । गुम्बा संरक्षणका लागि राज्यले चासो नदेखाउँदा यो ओझेलमा परेको हो ।

लामा दोर्जे लाङठोलले २०१५ सालमा स्थापना गरेको यो गुम्बाको औपचारिक उद्घाटन २०१८ सालमा मात्र गरिएको थियो । व्यक्तिगत लगानीबाट स्थापित गुम्बामा बौद्ध शिक्षासमेत दिने गरिन्थ्यो । ‘यो गुम्बाबाट हजारौँ बौद्ध लामा उत्पादन भए’, गुम्बाका लामा तेन्जिङ शेर्पाले भने, ‘नेपालमा संकटकाल लागेदेखि बौद्ध शिक्षा दिन छाडिएको छ ।’ पूर्वमा यो गुम्बाबाट मात्र बौद्ध शिक्षा दिइन्थ्यो । बौद्ध शिक्षा लिनेहरूको चाप थेग्न नसक्नु र संकटकालमा सुरक्षाको जोखिम बढेपछि बौद्ध शिक्षा बन्द भएको छ ।

बौद्ध शिक्षा बन्द भएपछि पूर्वमा लामाहरूको अभाव हुन थालेको तामाङ घेदुङ संघका जिल्ला अध्यक्ष जंग तामाङले बताए। ‘अहिले लामाको अभाव हुने गरेको छ’, तामाङले भने, ‘आगेजुङ गुम्बामा बौद्ध शिक्षा बन्द भएपछि दार्जिलिङबाट लामा बोलाएर काम चलाउनुपर्ने भएको छ ।’ राज्यले लामा शिक्षाबारे चासो नदिँदा समस्या भएको बौद्ध धर्मावलम्बीको गुनासो छ।

अहिले गुम्बा संरक्षण समिति गठन गरी समितिको मातहतबाट गुम्बा सञ्चालन हुँदै आएको छ । भक्तजन र दाताको सहयोगबाटै सञ्चालित यो गुम्बाको संरक्षणमा राज्यको कुनै निकायले चसो नदिँदा ओझेलमा परेको हो । पछिल्लो समय यो गुम्बालाई सरकारबाटै सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । तर पनि गुम्बाको संरक्षण र बौद्ध शिक्षाको विकासका लागि राज्यले चासो नदिँदा गुम्बा ओझेलमा परेको हो।

बौद्ध धर्मावलम्बीहरूको विशेष चाडपर्वका अवसरमा पूर्वका हजारौँ लामा यो गुम्बामा जम्मा हुने गरेका छन् । गुम्बामा खानेपानी र बस्नेको उचित व्यवस्था छैन। खानेपानीको अभाव टार्न जेनेरेटरबाट पानी तानेर यहाँको समस्या समाधान गरिएको छ । ‘कहिले पेट्रोल सकिन्छ, कहिले जेनेरेटर बिग्रन्छ’, तेन्जिङ भन्छन्, ‘कष्टकर छ यहाँको दैनिकी । पानी बोकेर ल्याउँदा दुई घण्टा लाग्छ।’

तेन्जिङले २०४९ सालदेखि गुम्बामा लामाको जिम्मेवारी सम्हालेका हुन् । कुनै बेला पूर्वमै नाम कमाएको गुम्बा संरक्षणको अभावमा ओझेलमा पर्दै गएको हो। भौगोलिक रूपमा निकै सुन्दर ठाउँमा रहेको यो गुम्बा बौद्ध धर्मावलम्बीहरूको ऐतिहासिक स्थलसमेत हो । गुम्बा व्यवस्थापन समिति पुल्चोक ललितपुरबाट केही सहयोग भए पनि गुम्बाको संरक्षणका लागि कसैले चासो नदिँदा यो ओझेलमा परेको हा।

‘बौद्ध शिक्षा सञ्चालनका लागि भौतिक संरचना वृद्धि गर्नुपर्छ’, तेन्जिङले भने, ‘लामा गुरुको पारि श्रमिक पनि राज्यले व्यवस्था गर्नुपर्ने हो । तर अहिलेसम्म यसतर्फ चासो दिएको छैन ।’ आगेजुङ गुम्बानजिकै जोरपोखरी पर्छ । यहाँ मेची अञ्चलकै सबैभन्दा पुरानो संस्कृत विद्यापीठ पनि छ । जोरपोखरी आसपासमै किराँत धर्मावलम्बीहरूको माङहिमसमेत रहेकाले यो स्थानमा धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेका स्थानीयको भनाइ छ । यसैले यसलाई आकर्षक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सबैको सहयोग आवश्यक रहेको उनीहरू बताउँछन् । (अन्नपुर्ण पोष्ट दैनिकबाट)

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।