
धनगढी । नेपाली कांग्रेसकी नेतृ तथा कैलाली–५ बाट प्रतिनिधिसभा सदस्य उमेदवार डा. आरजु राणा देउवाले नेकपा एमाले अध्यक्ष केपी ओलीप्रति कटाक्ष गर्दै चश्माको साटो दूरविन प्रयोग गर्न आग्रह गरेकी छन् । उनले भनिन्, ‘‘ओलीजीले नेपालको संविधान पनि पढिदिनु भए राम्रै हुन्थ्यो । नेपालको संविधानमा कोही पनि नेपाली नागरिक कहीँ पनि जन्मिएर कहींँ पनि उठ्न पाउने प्रावधान छ।’’
धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडीमा बुधबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेतृ राणाले भनिन्,”नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहिले कीर्तिपुर, कहिले सिरहा, कहिले चितवनबाट उठिरहेको छ, उहाँचाहिँ टुरिस्ट नहुने। महिला भएकाले मलाई हेपेको हो ओलीजी? महिलालाई हेर्ने तपाईंको दृष्टि नमिलेजस्तो लाग्यो। तपाईंको दृष्टिलाई चश्मा होइन, टेलिस्कोप नै चाहिन्छ।’’
केही दिन अघि धनगढी र डडेलधुरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले नेतृ राणालाई ‘टुरिस्ट’ उमेदवार र प्रधानमन्त्री शेरबहादुर देउवालाई मुलुकको विकासका लागि सिन्को सम्म नभाँचेको आरोप लगाएका थिए।
नेतृ राणाले कम्युनिष्ट गठबन्धनले कांग्रेसमा लामो समयदेखिको विभाजनको रोग निवारण गर्ने ‘भ्याक्सिन’ को काम गरेको टिप्पणी गरेकी छन् । कम्युनिष्ट गठबन्धनकै कारण गुट–उपगटमा बिभाजित कांग्रेस एक ढिक्का भएको बताएकी हुन् । ‘‘एमाले–माओवादीको गठबन्धनले कांग्रेसभित्र लामो समयदेखि रहेको गुटको राजनीति अन्त्य भएको छ’’, उनले भनिन्, ‘‘कम्युनिष्टहरुको गठबन्धनले त हाम्रा लागि रोग निवारण गर्ने भ्याक्सिनको काम गरेको छ।’’