धादिङ, मंसिर १३ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या सात जनाको पुगेको छ ।
दुर्घटनाग्रस्त बसबाट २३ जना घाइतेको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ।
काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको लु २ ख २९१ नम्बरको बस चितवनको इच्छा कामना गाउँपालिका–४ स्थित फिस्लिङबाट त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो।
विपरित दिशाबाट आएको ना ६ ख ४९७२ नम्बरको ट्रकसँग ठक्कर खाएर बस नदीमा खसेको हो।
मृतक ६ जनाको दुर्घटना लगत्तै शव निकालिएको थियो भने अन्य एक जनाको गोताखोरले पानीमा डुबेको बस भित्रबाट शव निकालेको हो।
दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । बस पूर्णरुपमा त्रिशूलीमा डुबेको छ।
घाइतेहरुलाई चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको छ। बसमा कति यात्रु थिए भन्ने अझै खुलेको छैन।
काठमाडौंबाट २६ जनाको चलानी लिएर गएको बसमा बीच बाटोमा कति यात्रु चढे भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।दुर्घटना लगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासिन्दा उद्दारमा जुटेका छन् ।