प्रदेश २ मा बहुमत अन्त राम्रो मत : निधि

 पब्लिक संवाददाता      बुधबार, मंसिर १३, २०७४      0

काठमाडौं, १३ मंसिर कांग्रेस नेता विमलेन्द्र निधिले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसले प्रदेश नम्बर २ मा बहुमत ल्याउने र अन्य स्थानमा राम्रो मत हासिल गर्ने बताएका छन् । मंगलबार पत्रकारसँगको भेटका क्रममा निधिले कम्युनिस्ट गठबन्धन बनेपछि कांग्रेस साँघुरिने देखिए पनि पहिलो चरणको निर्वाचनले कांग्रेसलाई बलियो बनाउने देखाएको दाबी गरेका हुन् ।

‘कम्युनिस्टहरू एक ठाउँमा उभिएपछि सबैतिर उनीहरूले जित्छन् कि भन्ने थियो,’ निधिले भने, ‘तर, पहिलो चरणमा ३७ क्षेत्रमा निर्वाचन भएपछि राजनीतिक वातावरणको रिपोर्टले कांग्रेसको अवस्था राम्रो देखिएको छ । अब बाँकी एक सय २८ प्रतिनिधिसभा र दुई सय ५६ प्रदेश सभामा कांग्रेसको पक्षमा राम्रो मत आउँछ । यसमा प्रदेश नम्बर २ मा कांग्रेसले बहुमत ल्याउँछ ।’

तराई मधेसलाई अधिकारसम्पन्न बनाउन कांग्रेस क्रियाशील रहेको र संविधान संशोधनका लागि निरन्तर पहल गरेकाले कांग्रेसप्रति तराईका जनता विश्वस्त रहेको दाबी उनले गरे ।

हामी प्रदेश नम्बर २ मा बहुमत ल्याउँछौँ । तर, अब निर्वाचन नजिकिएकाले मधेसी दलसँग तालमेलको सम्भावना छैन

मधेसवादी दलसँग अब थप तालमेल गाह्रो 
नेता निधिले तराई मधेसमा सक्रिय रहेका दलसँग अब थप चुनावी तालमेल हुने अवस्था कमजोर बन्दै गएको बताए । ‘राजपा र संघीय समाजवादीसँग जसरी पनि चुनावी गठबन्धन हुनुपर्ने थियो, हामीले गठबन्धनप्रति जिम्मेवार छौँ भनेरै अन्तिम समयसम्म पनि महन्थ ठाकुर र उपेन्द्र यादवलाई छाड्यौँ, तर अन्य ठाउँमा हुन सकेन,’ निधिले भने, ‘हामी प्रदेश नम्बर २ मा बहुमत ल्याउँछौँ । तर, अब निर्वाचन नजिकिएकाले तालमेलको सम्भावना छैन ।’

आफू जन्मथलो धनुषा– ३ मा उम्मेदवार बने पनि राजपाका नेता राजेन्द्र महतो लड्न आए पनि आफूले नै चुनाव जित्ने दाबी निधिले गरे । ‘म आफू जन्मेको ठाउँमा उठेको छु । अन्तबाट आएर को उठेको छ भन्नेसँग मेरो कुनै साइनो छैन,’ निधिले भने, ‘हल्ला भएजस्तो उम्मेदवारी फिर्ता लिनेबारे छलफल भएको पनि छैन । मेरो सोच पनि त्यस्तो छैन ।’ जनकपुरलाई प्रदेश नम्बर २ को राजधानी बनाउन आफूले सबै पहल गरिसकेको पनि उनले बताए ।

वाम गठबन्धनबाट मुलुकलाई एकदलीय साम्यवादतिर लाने प्रयास भएको भन्दै उनले एमाले अध्यक्ष केपी ओलीले जस्तो छाडा र छुच्चो बोल्नेभन्दा जनताको काम गर्ने पार्टी कांग्रेस भएको बताए ।(नयाँ पत्रिका)

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।