११ अर्ब बढ्यो बजार पुँजीकरण

 पब्लिक संवाददाता      बुधबार, मंसिर १३, २०७४      0

काठमाडौं, १३ मंसिर मंगलबार नेप्से परिसूचक १० दशमलव २३ अंक बढेको छ । कारोबारको सुरुवातमा केही ओरालो लागेको नेप्से त्यसपछिको समयमा भने बढेको थियो । १ हजार ५ सय १३ बिन्दुबाट सुरु भएको यस दिनको बजार अन्तिम समयसम्ममा शून्य दशमलव ६७ प्रतिशत बढेर १ हजार ५ सय २३ दशमलव ८६ बिन्दुमा पुगेको छ । नेप्से बढेसँगै यस दिनको कुल बजार पुँजीकरण पनि बढेको छ । अघिल्लो दिन रु. १७ खर्ब ५८ अर्ब ४० करोड रहेको कुल बजार पुँजीकरण यस दिन रु. ११ अर्ब ७५ करोड बढेर रु. १७ खर्ब ७० अर्ब १६ करोड पुगेको छ । कारोबारमा आएका दश समूहमध्ये सात समूहको परिसूचक उकालो लागेपछि समग्र नेप्से बढ्न पुगेको हो । प्राथमिक बजारमा हकप्रद सेयर र आइपिओ तथा एफपिओमार्फत सेयर आपूर्तिमा केही कमी आएका कारण बजार सकारात्मक बनेको विश्लेषकले बताए । साथै बैंकहरूले कर्जा तथा निक्षेपमा ब्याजदर घटाएका कारण पनि बजार प्रभावित भएको उनको भनाइ छ ।

नेप्सेको १४ दिने आरएसआई यस दिन ५५ दशमलव ९२ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन २ दशमलव ३२ अंक बढेर ३ सय २१ दशमलव ४६ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६३ कम्पनीको ४ हजार ९ सय ४० पटकको कारोबारमा रु. ५८ करोड ४६ लाख ९३ हजार ८ सय ८९ बराबरको १० लाख २७ हजार २ सय ४ कित्ता सेयर खरिद–बिक्री भएको छ । यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा ८ करोड ५२ लाख कम हो ।

चिलिमे हाइड्रोपावर कम्पनीको यस दिन सर्वाधिक रु. ४ करोड २३ लाखभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, बुटवल पावर कम्पनीको रु. ३ करोड ८६ लाखबराबरको सेयर किनबेच भएको छ । २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको मिसन डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन ७ दशमलव ८१ प्रतिशत बढेको छ । कुबेर मर्चेन्ट फाइनान्सको सेयरमूल्य भने यस दिन ३ दशमलव २२ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ६१ कम्पनीमध्ये यस दिन ९० कम्पनीको सेयरमूल्य बढेको छ भने ५२ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २१ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

नेपाल दूरसञ्चार कम्पनीको सेयरमूल्य रु. ३७ बढेपछि ‘अन्य’ समूहको परिसूचक सर्वाधिक ४ दशमलव शून्य ३ प्रतिशत बढेको छ । जलविद्युत् समूहको परिसूचक १ दशमलव ६१ प्रतिशत, होटेल समूहको १ दशमलव ४६ प्रतिशत, माइक्रोफाइनान्स समूहको शून्य दशमलव ७७ प्रतिशत, बैंकिङ समूहको शून्य दशमलव ४१ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव १६ प्रतिशत र फाइनान्स समूहको शून्य दशमलव १ प्रतिशत बढेको छ । यस दिन उत्पादनमूलक समूहको परिसूचक शून्य दशमलव ६३ प्रतिशत र बिमा समूहको शून्य दशमलव १८ प्रतिशत घटेको छ । कारोबारमा आएको व्यापार समूहको परिसूचक भने यस दिन स्थिर रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।