बेहलिया–बुटवल सडक ६ लेनमा विस्तार गरिँदै

 पब्लिक संवाददाता      बुधबार, मंसिर १३, २०७४      0
५ अर्ब ८६ करोड लागत रहेको सडकको विस्तार ०७७ असारसम्ममा सम्पन्न हुने –

काठमाडौं, १३ मंसिर नेपाल–भारतबीच हुने व्यापारलाई विस्तार गर्न र आवातजावत सहज बनाउन बेलहिया–बुटवल व्यापारिक मार्ग ६ लेनमा विस्तार कार्य भइरहेको छ । विस्तारित सडक प्रतिघन्टा ८० किलोमिटरको गतिमा सवारी चलाउन सकिने गरी बनाइनेछ ।

सिद्धार्थ राजमार्गको सुरु बिन्दु बेलहियादेखि बुटवलसम्मको कुल २७ दशमलव ५० किलोमिटरमध्ये अहिलेसम्म ११ दशमलव ४ किमि सडक निर्माणकार्य सम्पन्न भइसकेको आयोजना प्रमुख जीवेन्द्र मिश्रले जानकारी दिए । ‘अहिलेसम्म बुटवलतर्फ ६ किमि र भैरहवातर्फबाट ५ दशमलव ४ किमि सडक सम्पन्न भएको छ,’ उनले भने, ‘यो कुल विस्तार गर्नुपर्ने सडकको ४१ दशमलव ४५ प्रतिशत हो।’

चालू आव ०७४-७५ मा करिब ८ किलोमिटर सडक कालोपत्रे हुने आयोजना कार्यालयले जानकारी दिएको छ । ०७५ असोज–कात्तिकसम्म बुटवल भैरहवासम्म सम्पूर्ण रूपमा कालोपत्रे भइसक्ने पनि उनले जानकारी दिए । त्यस्तै, साउन ०७७ सम्ममा बुटवल चौराहा–गोलपार्क–चिडियाखोला तथा बेलहियादेखि वाइपाससम्मको सडकको निर्माणकार्य सम्पन्न हुने गरी काम भइरहेको छ । यो व्यापारिक मार्ग विस्तार आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गतको हो ।

बेलहिया–बुटवल सडक, मणिग्राम, रुपन्देही सिद्धार्थ राजमार्गको सुरुमा बेलहियादेखि बुटवल चौराहासम्मको २४ किलोमिटर सडकखण्डलाई ६ लेनमा निर्माण गर्ने गरी असार ०६९ मा कार्यालय स्थापना भएको थियो । तर, पछि १७ चैत ०७२ मा विभागीय निर्णयअनुसार यस आयोजनाको कार्यक्षेत्र बुटवल चौराहादेखि गोलपार्क चिडियाखोलासम्म ३ दशमलव ५ किमि थप भई २७ दशमलव ५० किमि कायम भएको हो ।

यस व्यापारिक मार्ग विस्तार आयोजनाको विस्तृत इन्जिनियरिङ सर्भे तथा डिजाइन प्रतिवेदन एमइएच कन्सल्टेन्ट र सिइएमएटी कन्सल्टेन्टले संयुक्त रूपमा तयार पारेका हुन् ।

आयोजनाको लागत करिब ६ अर्ब 
आयोजनाको लागत विस्तृत आयोजना प्रतिवेदनअनुसार ५ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । आयोजनाको कुल लागतमध्ये हालसम्म ३ अर्ब ४७ करोड रुपैयाँ खर्च भइसकेको छ । उक्त रकम आयोजनाको कुल लागतको ५९ दशमलव ३१ प्रतिशत हो । प्रत्येक वर्ष विनियोजित वार्षिक बजेटको ९५ प्रतिशत रकम खर्च गर्न आयोजना सफल भएको आयोजना कार्यालयका प्रमुख जीवेन्द्र मिश्रले बताए । समयमै बजेट निकासा हुने र बजेट अभाव बढ्ने तथा नदीजन्य निर्माण सामग्रीको सहजता भएमा ०७६-७७ सम्म सम्पूर्ण निर्माणकार्य सम्पन्न गर्न सकिने उनको भनाइ छ । ठेक्काहरूको हालसम्मको निर्माणकार्य विभिन्न समस्याका बाबजुद सन्तोषजनक नै रहेको मिश्रले बताए ।

१२ वटा संयुक्त उपक्रम (जेभी)द्वारा निर्माण
बेलहिया–बुटवल व्यापारिक मार्ग निर्माणमा १२ वटा संयुक्त उपक्रम (जेभी) रहेका छन् । त्यसमा केहीले जिम्मेवारीको काम सम्पन्न गरिसकेका छन् । ११ असार ०६९ मा सम्झौता भएको शर्मा–दिवा–दि कञ्चनजंघा, लुम्बिनी–कन्टेच–आशिष र लामा–रायमाझी कान्छाराम गरी ३ वटाले आफ्नो भागको काम सम्पन्न गरिसकेका छन् । त्यस्तै, ११ असार ०७१ मा सम्झौता गरेको शर्मा–लामा–कान्छाराम जेभीले पनि जिम्मा पाएको काम पूरा गरिसकेको छ ।

डन्डाखोलाको पुलसमेत निर्माण गर्ने गरी ठेक्का पाएको कालिका–तामाङ–प्यासिफिक जेभीले अहिलेसम्म ८५ प्रतिशत मात्र काम सकाएको छ । त्यसैगरी बिरुवा–श्रेष्ठ–एपेक्स जेभी र टेलिकम्युनिकेसन्स् कन्सल्ट्यान्ट इन्डियाले ३५ प्रतिशत र कालिका–रायमाझी जेभीले ३७ प्रतिशत काम सकाएको छ ।

काममा ढिलाइ हुनुका कारण
१. सडक सीमा खाली गराउने क्रममा केही व्यक्तिबाट मुद्दा दायर भएपछि मुद्दाको अन्तिम फैसला नआउन्जेल निर्माण रोकिनु र अन्तिम फैसलापश्चात् पनि खाली गराउने क्रममा समय लाग्नु ।

२. भूकम्पलगायतका प्राकृतिक विपद्, अघोषित भारतीय नाकाबन्दी तथा बन्द, हडताल र तराई आन्दोलनका कारण कामले तीव्रता पाउन नसक्नु ।

३. रुपन्देही र आसपासका जिल्ला पाल्पा, नवलपरासी तथा कपिलवस्तुमा यथेष्ट नदीजन्य पदार्थ उपलब्ध नहुनु ।

४. सडकमा पर्ने विद्युत् संरचना तथा खानेपानी आयोजना व्यापारिक मार्ग विस्तार आयोजनाकै खर्चमा नयाँ निर्माण गर्नुपर्ने।

(NayaPatrika)

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।