निर्माण पूरा नभएका सलमानका दर्जन फिल्म

 पब्लिक संवाददाता      मङ्लबार, मंसिर १२, २०७४      0

एजेन्सी काठमाडौं, १२ मंसिर। बलिउडका सुपरस्टार सलमान खानको नयाँ फिल्म टाइगर जिन्दा है डिसेम्बर २२ मा प्रदर्शन हुँदै छ । सन् १९८९ मा बिबी हो तो ऐसीमा सहायक भूमिकाबाट डेब्यु गरेका सलमानले थुप्रै सुपरहिट फिल्म दिएका छन् । पछिल्लो एक दशकयता सलमानका अधिकांश फिल्म सुपरहिट भएको पाइन्छ । त्यसकारण सन् २०१२ को एक था टाइगरको सिक्वेल टाइगर जिन्दा है पनि सुपरहिट हुने आकलन गरिएको छ । सलमानको करिअरमा केही फ्लप फिल्म पनि छन् । त्यति मात्रै नभई उनका घोषणा भएर निर्माण पूरा नभएका, बीचमै अड्किएका तथा सुटिङ भएर पनि हलमा नआएका केही फिल्म छन् । त्यसबारे भारतीय अनलाइनले एउटा रिपोर्ट तयार गरेको छ :

चोरी मेरा काम
सन् १९९० मा अजिज सजवालको निर्देशनमा सुरु भएको चोरी मेरा काममा सलमानका साथमा सुनील सेठ्ठी, काजोल र शिल्पा सेठ्ठी मूख्य भूमिकामा थिए । झन्डै ५० प्रतिशत सुटिङ सकिएको थियो । तर, फिल्म त्यसभन्दा अघि बढेन । त्यतिवेला चोरी मेरा काम चर्चामा थियो । तर, निर्माताले फिल्म पूरा गरेनन् । फिल्मको एउटा स्टन्ट सलमान र सुनील सेठ्ठी अभिनीत थम्सअपको विज्ञापनमा प्रयोग गरिएको थियो ।

रण क्षेत्र
सलमान अभिनीत रणक्षेत्र सन् १९९० को फिल्म हो । फिल्ममा सलमानका साथ भाग्यश्री मुख्य भूमिकामा थिइन् । दिलीप शंकरले निर्देशन गरेको रणक्षेत्रको केही दिन सुटिङ भएको थियो । एकाएक हिरोइन भाग्यश्रीले हिमालय दासनीसँग बिहे गरेपछि फिल्मको काम रोकिएको रोकियै भयो ।

दिल हे तुम्हारा
सलमानले अभिनय गरेको सन् १९९१ को फिल्म दिल हे तुम्हारा पनि पूरा भएन । राजकुमार सन्तोषीले निर्देशन गरेको फिल्मको पहिलो सेड्युल मात्र सुटिङ गरिएको थियो । त्यसैक्रममा निर्देशक सन्तोषीले बरसात फिल्म निर्देशन गर्ने मौका पाए । उनी बरसाततिर लागेपछि दिल हे तुम्हारा रोकियो । फिल्ममा सलमानका साथ सनी देओल र मीनाक्षी शेषाद्री मुख्य भूमिकामा थिए ।

घेराव
सलमानको घोषणा भएर नबनेको फिल्म हो, घेराव । दिल हे तुम्हारा अड्किएपछि निर्देशक राजकुमार सन्तोषीले सन् १९९१ मै सलमानका साथ मनीषा कोइरालालाई लिएर यो फिल्म मुर्हत गरेका थिए । घेराव मुर्हतभन्दा अघि बढ्न सकेन । सन्तोषीले सलमानलाई दिल हे तुम्हारामा दिएको पारिश्रमिक घेरावमा मिलाएको बताइन्छ ।

ए मेरे दोस्त
सलमानको मुर्हत भएर नबनेको अर्काे फिल्म हो, ए मेरे दोस्त । सन् १९९१ को यो फिल्ममा सलमानका साथ दिव्या भारती, अरबाज खान र करिश्मा कपुर मुख्य भूमिकामा थिए । नदिम श्रवणको संगीतमा एउटा गीत रेकर्डिङ र मुर्हतबाहेक यो फिल्म अघि बढ्न सकेन ।

बुलन्द
सन् १९९२ मा बनेको बुलन्द सलमानको निर्माण पूरा नभएको फिल्म हो । बुलन्दको झन्डै ८० प्रतिशत सुटिङ सकिएको थियो । तर, लगानी विवादका कारण पूरा भएन । फिल्ममा सलमानका साथ सोमी अली मुख्य भूमिकामा थिइन् । सन् २०१६ मा रिलिज भएको ऋतिक रोशनको काबिल फिल्मलाई बुलन्दको कपी भन्ने आरोप लागेको थियो ।

राम
सन् १९९४ मा सोहेल खानले निर्देशनमा डेब्यु गरेको राम फिल्म पनि पूरा भएन । राममा सलमान र पूजा भट्ट मुख्य भूमिकामा थिए । फिल्मको ४० प्रतिशत सुटिङ सकिएको थियो । सुटिङकै क्रममा निर्देशक सोहेल र निर्माता मंसुर सिद्धिकीबीच लगानी विवाद चर्कियो । त्यसपछि सलमान आफैँले फिल्म पूरा गर्छु पनि भने । तर, फिल्म त्यसभन्दा अघि बढेन ।

दश 
सन् १९९७ को दश फिल्म पनि पूरा भएन । झन्डै ४० प्रतिशत सुटिङ सकिएपछि निर्देशक मुकुल एस आनन्दको अचानक निधन भयो । त्यसपछि मुकुलका भाइ राहुलले फिल्म पूरा गर्ने घोषणा पनि गरे । तर, काम अघि बढेन । फिल्ममा सलमानका साथ सञ्जय दत्त, रबिना टन्डन र शिल्पा सेठ्ठी मुख्य भूमिकामा थिए ।

आँख मिचोली
अनीश बज्मीको निर्देशनमा सन् १९९७ मा निर्माण सुरु भएको आँख मिचोली पनि रिलिज भएन । फिल्ममा सलमान डबल रोलमा देखिनेवाला थिए । जुड्वापछि सलमान डबल रोल गर्न चाहँदैनथे । त्यसैले घोषणा भएर पनि यो फिल्म बनेन ।

राजु राजा राम
सन् १९९७ मा निर्माण सुरु भएको राजु राजा रामको ७० प्रतिशत सुटिङ सकिएको थियो । तर, त्यसभन्दा अघि बढ्न सकेन । फिल्ममा सलमानका साथमा गोबिन्दा, ज्याकी श्राफ र मनीषा कोइराला मुख्य भूमिकामा छन् । डेबिड धवनको निर्देशनमा बनेको कमेडी फिल्म राजु राजा राम लगानी अभावका कारण डब्बा बन्द भएको बताइन्छ ।

जलवा
सन् १९९८ मा जलवाको सुटिङ सुरु भयो । मोरिससको सेड्युल सकेपछि फिल्म अघि बढेन । केतन धवनको निर्देशन रहेको फिल्ममा सलमानका साथ सञ्जय दत्त र अरमान कोहली मुख्य भूमिकामा थिए ।

महाभारत

सन् १९९९ मा निर्देशक राजकुमार सन्तोषीले महाभारत नामक फिल्म घोषणा गरे । फिल्ममा सलमानका साथ शाहरुख खान, अनिल कपुर र सनी देओल थिए । सलमान र शाहरुखको फोटोसुटबाहेक यो फिल्म अघि बढेन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।