बम विस्फोट भएको स्थानमा खटिएका ६ प्रहरी निलम्बित, बम दुईजनाले राखेको खुलासा

 पब्लिक संवाददाता      मङ्लबार, मंसिर १२, २०७४      0

ताप्लेजुङ, मंसिर १२ । ताप्लेजुङको एक मतदानस्थलमा नै बम विस्फोट भएपछि सो क्षेत्रमा सुरक्षाका लागि खटिएका एक असईसहित ६ जनालाई निलम्बन गरिएको छ ।

सुरक्षा संवेदनशीलतामा हेलचेक्र्याइँ गरेको भन्दै प्रहरी सहायक निरीक्षक गंगादेवी खत्रीसहित ६ प्रहरीलाई निलम्बन गरिएको जनाइएको छ ।

प्रहरी स्रोतकाअनुसार निलम्बन हुनेहरुमा एक असइ, एक हवल्दार र चारजना प्रहरी जवान रहेका छन् ।

गत मंसिर ९ गते ताप्लेजुङको भानु मावि मतदानस्थलमा मतदानका लागि बुथ निर्माणको कार्य भइरहेकै समयमा बम विस्फोट भएको थियो ।

मतदानस्थलमा तीन दिनअघिदेखि नै प्रहरी परिचालन गरिएपनि बम राख्दासमेत थाहा नपाएको र सुरक्षामा हेलचेक्र्याइँ गरेको भन्दै ती प्रहरीलाई निलम्बन गरीएको प्रहरी स्रोतको दाबी रहेको छ ।

निलम्बितहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

सो दिन विस्फोट भएको बम भने टाइमबम रहेको प्रहरीले बताएको छ ।

बुथ निर्माण भइरहेको समयमा बम विस्फोट भएपनि कुनै मानवीय क्षति भने भएको थिएन ।

बम विस्फोटपछि सो स्थानलाई परिवर्तन गर्दै सोही विद्यालयको अर्को खेल मैदानमा मतदानस्थल निर्माण गरी मंसिर १० गते मतदान गराइएको थियो ।

बम दुईजनाले राति राखेको खुलासा
एउटा गेटबाटमात्रै पस्न सकिने सो बम विस्फोट भएको विद्यालयमा वरिपरि काँडेतारले परिसर घेरिएको छ ।

विद्यार्थीको निगरानीका लागि विद्यालय परिसरलाई कैद गर्ने गरी विद्यालयले सीसी क्यामरासमेत जडान गरेको छ ।

बम विस्फोट भएको बिहानको राति करिब २ बजे दुईजना युवक आएर सो विद्यालयको मतदानस्थान बनाउने ठाउँमा खनेर बम राखेर भागेको विद्यालयको सीसी क्यामराले कैद गरेको छ ।

सो समयमा मतदानस्थलको सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक गंगादेवी खत्रीसहितको प्रहरी टोली परिचालन गरिएको थियो ।

बम राखेको नजिकै विद्यालय निर्माणका लागि बालुवा थुपारिएकाले बम राख्न आएकाले खनेर बम राखी पुनः पुरेर माथिबाट बालुवा छरेर भागेका थिए ।

बम राखेको १२ घन्टापछि सो बम विस्फोट भएको देखिएको छ । सो सीसीटीभीको भिडियो फुटेज प्रहरी र नेपाली सेनाले अनुसन्धानका लागि बम विस्फोट भएको केही घन्टामा नै लगे पनि हालसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।

सो बम राखेको देखिने सीसीटीभी फुटेज भने कम्प्युटरको हार्डडिक्सबाट प्रहरीले कपी गरेर हटाएको छ ।

बम राख्ने र पड्काउने फेला नपरेपनि सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई सुरक्षामा लापरबाही गरेको भन्दै निलम्बन गरिएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।