
नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढी आइतबार राति १२ बजेबाट सुचारु भएको छ । पहिलो चरणमा आइतबार भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर राख्दै ७२ घन्टाका लागि बन्द गरिएको नाका निर्वाचन सकिएसँगै सुचारु भएको हो ।
नाका सुचारु भएसँगै रसुवागढीबाट १९ वटा कन्टेनर सामग्री लिनका लागि केरुङतर्फ गएको र २७ वटा मालबाहक कन्टेनर केरुङबाट नेपालतर्फ आएको प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षत्रीले जानकारी दिए ।
अन्तर्राष्ट्रिय नाकाका रूपमा घोषित रसुवागढीमा ३ सयभन्दा बढी कन्टेनर केरुङ जाने तयारीमा रहेको समेत थापाले बताएका छन् । उनले भने, ‘जिल्लाको रसुवागढी टिमुरेमा कन्टेनरको चाप छ, ३ सयभन्दा बढी कन्टेनर केरुङ जाने तयारीमा छन् ।’
अवाञ्छित तत्व निर्वाचन गतिविधिमा अवरोध पुर्याएर सीमा पार गरेर जान सक्ने अवस्थालाई मध्यनजर गर्दै निर्वाचनको समयमा सीमा नाका बन्द गर्ने गरिएको छ । सुचारु भएसँगै नाकामा चहलपहल बढेको प्रहरीले जनाएको छ ।