राजविराज, मंसिर ९ । राजपा नेपालका अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुरले मधेस अन्दोलन र मधेस विद्रोहकै कारण मुलुक संघीयतातर्फ उन्मुख भएको जिकिर गरेका छन् ।
उनले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दुई नम्बर प्रदेशमा मधेसी गठबन्धनलाई दुई तिहाइ मतले जिताउन आग्रह गरे।
संयोजक ठाकुरले आफूहरुको बहुमत आएको अवस्थामा बन्ने सरकारले शिक्षालाई निःशुल्क बनाउनुका साथै विपन्न समुदायका घर–घरमा ग्यासचुलो उपलब्ध गराउने र बालिकाको जन्म हुनेबित्तिकै उनको नाममा १० हजार रुपैयाँ बैंक खातामा जम्मा गरिने घोषणा पनि गरे ।
शनिबार राजपा र संघीय समाजवादी फोरम नेपालबीचको गठबन्धनले मधेस आन्दोलनको केन्द्र मानिने सप्तरी सदरमुकाम राजविराजबाट संयुक्त चुनावीसभाको सुरुआत गरेको छ । सोही सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले मधेस आन्दोलनकाक्रममा राज्यद्वारा आतंक मच्चाएको आरोप पनि लगाए ।
सभालाई सम्बोधन गर्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धनलाई ‘मधेस र लोकतन्त्रविरोधी’ भएको आरोप लगाए।
उनले मधेसी जनताको भावना र आदेशानुसार नै सम्पूर्ण मधेसी दल एक भएर चुनावमा होमिएको बताए ।
यस्तै, राजपा अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतोले आसन्न निर्वाचन ‘बदला’ लिने मौका भएको जिकिर गरे ।
‘मंसिर २१ गते बुलेटको जवाफ जनताले ब्यालेटमार्फत् दिनुपर्छ’–उनले भने–‘मतदान गर्ने समयमा एकपटक अवश्य सहिदलाई याद गर्नुहोला ।’
स्थानीय तहको निर्वाचनमा छुट्टाछुुट्टै चुनाव लडेपनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तालमेल भएपछि शनिबारदेखि राजपा–फोरम गठबन्धनले संयुक्त चुनावीसभा थालेको हो । प्रदेश नम्बर–२ मा राजपा र फोरम नेपालले गठबन्धन गरेका हुन् ।
सो सभालाई राजापाका महासचिव मनीष सुमन, फोरम नेपालीकी उपाध्यक्ष रेणु यादव, केन्द्रीय सदस्य डा. खालिद हुसैन हक, सैलेन्द्र साह, महिला नेत्री सरिता गिरीलगायतले पनि सम्बोधन गरेका थिए ।
इमेजखबर