म्याग्दी, मंसिर ९ । पहिलो चरणमा आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा निकायले सुरक्षा सतर्कता बढाएको छ ।
लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबीच शुक्रबार राति जिल्लाका विभिन्न ठाउँहरुमा झडप भएपछि सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्रसम्म रातको समयमा हुने गतिविधिलाई निगरानी र नियन्त्रण गर्ने रणनीतिलाई कार्यान्वयन गरिएको प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले बताए ।
शुक्रबार राति जिल्लाका घतान, अर्जम, चुत्रेनी, मुदी, पात्लेखेतलगायतका ठाउँहरुमा दुई गठबन्धनका युवाहरुबीच झडप भएको थियो ।
दल र उम्मेदवारको प्रचार–प्रसारकाक्रममा उम्मेदवारकेन्द्रित सुरक्षा रणनीति अपनाएका सुरक्षा निकायले बिहीबारदेखि मतदानस्थलमा पुगेका अधिकृतसहितको कर्मचारीको सुरक्षा, सम्भावित झडपका घटनालाई न्यूनीकरणका लागि फरक रणनीति अपनाएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।
बिहीबार मध्यरातिदेखि सुरू भएको मौनअवधिमा प्रतिस्पर्धी दलहरुले मतदातालाई प्रभावित पार्न खोज्दा झडपका घटना, अपराधिक मानसिकता भएकाहरुको चलखेल, निर्वाचनको विरोधीहरुको गतिविधिसमेत बढ्नसक्ने सम्भावनालाई मध्यनजर गरी सुरक्षा योजना बनाइएको सुरक्षा निकायले जानकारी दिएको छ ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सदरमुकाम बेनीदेखी विकट बस्तीका मतदान केन्द्रमासमेत आवश्यकताअनुसारको सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै राति ८ बजेपछि आवत–जावतमा निगरानी र १० बजेपछि नियन्त्रणमा लिइ अर्को दिन छोड्नेसहितको योजना बनेको छ ।
जिल्लालाई जोड्ने नाकाहरूमा कडाइ, जमिनदेखि जंगलसम्म सुरक्षाकर्मीको परिचालन गरिएको बताइएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने आवश्यक सबै शक्ति प्रयोग गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित छलफलमा सामाजिक सञ्जाल, गलत मोटिभेसन, मदिरा, पैसा, मोटरसाइकल र शक्ति प्रदर्शनका कारण हुनसक्ने सम्भावित घटनालाई आधार बनाइ रणनीति बनाइएको सुरक्षा निकायको भनाइ छ ।
निर्वाचन प्रचार–प्रसारकाक्रममा बेनी नगरपालिका–१ रत्नेचौर र बेनपा–३ भकिम्लीको तोराखेतमा बम विस्फोट भएपछि सुरक्षा योजनामासमेत परिवर्तन गरिएको जनाइएको छ।