
दोलखा, मंसिर ९ । आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चरिकोटमा रहेका मतदाताहरु भटाभट गाउँ फर्कन थालेका छन्।
दुई नगरपालिका सहित सात गाउँपालिका लगाएत अन्य स्थानबाट, जिल्ला सदरमुकाम चरिकोटमा ब्यापार-व्यवसाय र नोकरी गरेरे बसेका मतदाताहरु, आफ्नो मतबाट मुलुकमा नयाँ परिवर्तन आउने आशा बोकेर गाउँ फर्कन लागेको बताउँछन्।
चरिकोटको बसपार्क,लगायत अन्य स्थानमा पुग्दा धेरैलाई चरिकोट छाड्ने चटारो थियो ।आफ्नो गाउँ–ठाउँको विकास गर्नेलाई जिताउने आशा बोकेर धेरैजना घर जान हतारमा देखिन्थे । आफनो एक मत विकासका लागि निकै महत्वपूर्ण हुने भन्दै उनीहरुले भोट हाल्न आतुर भएको बताए।
संविधान कार्यान्वयनको अवस्थामा रहेकाले चुनावपछि देश विकास भइ युवा जनशक्ति विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा उनीहरुको छ ।
देशमा शान्ति–सुरक्षा कायम गरी मत हाल्न पाउने नागरिकको नैसर्गिक अधिकार संरक्षण गर्न उनीहरुले सरकारको ध्यानाकर्षण पनि गरेका छन् । मत दिन जान थालेका धेरैको चाहना आफ्नो गाउँठाउँको विकास गर्ने प्रतिनिधि छान्ने नै रहेको छ।