पब्लिक संवाददाता
शनिबार, मंसिर ९, २०७४
0
काठमाडौं, मंसिर ९ । संसद नै नहुँदा पनि यहाँ कार्यरत कर्मचारीले ८० प्रतिशतसम्म भत्ता लिंदै आएका छन् ।
यसबाहेक खाना–खाजाका लागि थप दैनिक २५० रुपैंयाँ सुविधा उनीहरुले पाउने गरेका छन् । राज्यकोषबाट सचिबालयका कर्मचारीको भत्तामा मात्रै मासिक ७० लाख ५० हजारभन्दा बढी खर्च हुन्छ ।
गत २८ असोजदेखि संसदको कार्याकाल सकिए पनि आगामी माघ ७ सम्म कर्मचारीले तलबसहित भत्ता र खाना–खाजा खर्चलगायतका सुविधा पाउँनेछन् । यस अवधिमा कर्मचारीको भत्तामा दुई करोड १० लाखभन्दा बढी खर्च हुनेछ ।
सचिबालयमा हाल स्थायी र करार गरी करिब तीन सय कर्मचारी कार्यरत छन् । जसमध्ये २२४ स्थायी कर्मचारीले ८० प्रतिशत भत्ता पाउँछन् ।
महासचिबको मासिक भत्ता ५१ हजार एकसय छ । उनले तलबसहित मासिक एकलाख पाँचहजार भन्दा बढी रकम बुझ्ने गरेका छन् । –नयाँ पत्रिका दैनिकबाट