
नुवाकोट : प्रहरीलाई स्थानीय तहको निर्वाचनमा खटाइएपछि नुवाकोट र रसुवा जिल्ला कारागारको सुरक्षाकाे जिम्मा नेपाली सेनालार्इ दिइएकाे छ जिल्ला सुरक्षा समन्वय समितिले अर्को व्यवस्था नगरेसम्म कारागारको सुरक्षाका लागि सेना खटाउने निर्णय गरेको हो।
विदुर नगरपालिका १ ढुंगेमा रहेको नुवाकोट जिल्ला कारगारमा श्रीनाथ गणका सहसेनानी सानुराम कार्कीको नेतृत्वमा एक प्लाटुन सेना खटेको कारागार कार्यालयका प्रमुख जेलर टंकराज चिमोरियाले जानकारी दिए। कारागारको सुरक्षामा अहिले तीन जना मात्र प्रहरी खटिएका छन्।
नुवाकोट जिल्ला कारागारमा हाल १६ महिला, एकसय ३५ पुरुष र एक नाबालक छन्। नेपाली सेनाले २४ सै घण्टा कारागारको सुरक्षा दिइरहेका छन्।
नुवाकोटकै छिमेकी रसुवा कारागारमा पनि सुरक्षाका लागि सेना खटिएका छन्। नेपाल प्रहरीको समन्वयमा चुनाव अवधिभर कारागारको सुरक्षा सेनाले गर्ने रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए।