तथ्यांकमा पहिलो चरणको निर्वाचनः ७४ सदस्यका लागि ८०३ जना चुनावी मैदानमा

 पब्लिक संवाददाता      शुक्रबार, मंसिर ८, २०७४      0

निर्वाचन आयोगले आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी पूरा भएको जनाएको छ।

पहिलो चरणअन्तर्गत् पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मका हिमाली र उच्चपहाडी ३२ जिल्लामा मतदान हुँदैछ ।

पहिलो चरणमा ३२ जिल्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि ३७ र प्रदेशसभाका लागि ७४ सदस्यका लागि मंसिर १० गते मतदान हुन लागेको हो ।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा ३२ लाख २८ हजार ८७९ मतदाता रहेका छन् ।

पहिलो चरणको प्रदेशसभा सदस्यका लागि ४८१ र प्रतिनिधिसभा सदस्यका लागि ३२२ गरी ८०३ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

पहिलो चरणको निर्वाचनका लागि २ हजार ९१९ मतदानस्थल र ४ हजार ४६५ मतदान केन्द्र कायम गरिएको छ । पहिलो चरणको निर्वाचनका लागि ४५ हजारभन्दा बढी कर्मचारी खटिएका छन् ।

निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी गरी करिब ३ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ।

पहिलो चरणमा सबैभन्दा धेरै मतदाता ३ नम्बर प्रदेशमा छन् भने सबैभन्दा कम ५ नम्बर प्रदेशमा ।

पहिलो चरणमा दुई निर्वाचन क्षेत्र रहेका नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, गोरखा र बाग्लुङ गरी ५ जिल्ला रहेका छन् ।

पहिलो चरणमा प्रदेश नम्बर–१ का ७ जिल्लामा प्रतिनिधिसभाका ७ र प्रदेशसभाका लागि १४ सदस्यका लागि मतदान हुँदैछ।

प्रदेश नम्बर–२ का कुनैपनि जिल्लामा पहिलो चरणमा चुनाव हुने छैन।

यस्तै, प्रदेश नम्बर–३ मा ६ जिल्लाका ९ प्रतिनिधिसभा र १८ प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ।

पहिलो चरणमा प्रदेश नम्बर–४ का ६ जिल्लामा ८ प्रतिनिधिसभा र १६ प्रदेशसभा सदस्यका लागि मतदान हुँदैछ।

प्रदेश नम्बर–५ मा प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ सदस्यका लागि निर्वाचन हुँदैछ।

पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेश नम्बर–६ का ७ जिल्लामा ७ प्रतिनिधिसभा र १४ प्रदेशसभा सदस्यका लागि मंसिर १० गते निर्वाचन हुँदैछ।

यस्तै, प्रदेश नम्बर–७ का ४ जिल्लामा ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा मंसिर १० गते निर्वाचन हुँदैछ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले पहिलो चरणको निर्वाचनका लागि केन्द्रबाट गर्नुपर्ने सम्पूर्ण काम पूरा भएको र मतदान केन्द्रकेन्द्रित कामहरु सुरु भइसकेको जानकारी दिए।

निर्वाचन आयोगले उच्च हिमाली भेगमा हिउँ परेको कारण तल्लो क्षेत्रमा झरेका मतदाताका लागि अस्थायी मतदान केन्द्रको व्यवस्था मिलाएको जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।