
काठमाडौं : राष्ट्रिय जनता पार्टीले कार्यकारी प्रधानमन्त्री र आलंकारिक राष्ट्रपतिको वकालत गर्दै आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।पहिचान, सम्मान, स्थान र स्वाभिमान प्राप्तिका लागि निर्वाचनरूपी लडाइँमा आममतदाताको मत पाउनुभन्दा ठूलो हतियार नहुने उद्घोषसाथ राजपाले ५८ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको हो।
महोत्तरीको जलेश्वरमा बिहीबार सार्वजनिक घोषणापत्रमा उसले सार्थक संविधान, समावेशी राज्य, समतामूलक समाज, सार्वभौमसत्तासम्पन्न नागरिक भन्ने विषयमा जोड दिएको छ।राजपाले मधेस आन्दोलनका सहिद परिवारलाई ५० लाख रुपैयाँ दिनेदेखि विवाहयोग्य महिलालाई आधा तोला सुनको मंगलसूत्र दिनेजस्ता लोकप्रिय योजना पनि सार्वजनिक गरेको छ।
सात महिने नाकाबन्दीको बेला करिब पाँच दर्जन मधेसी नागरिक सहिद भएका थिए भने मधेसी दलले त्यतिबेलै सहिद परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा गरेको थियो। उनीहरूलाई प्रदेश २ को प्रदेश सकार गठन भएपछि उक्त रकम दिइने राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले उल्लेख गरे।
घोषणापत्रमा के छ ?
– पहिचान, सम्मान, स्थान र स्वाभिमानमा जोड
– मधेस आन्दोलनका सहिद परिवारलाई ५० लाख रुपैयाँ
– विवाहयोग्य महिलालाई आधा तोला सुनको मंगलसूत्र
– राष्ट्रको परिभाषामै ‘मधेस एक राष्ट्र’
नेपालबाट सबैखाले विभेदकारी कानुन अन्त्य गर्ने, सबै नेपालीको परिचयलाई सम्मान गर्ने, सबैको अधिकार सुरक्षित गर्ने, प्रदेशको सीमांकन सच्याउने र राष्ट्र निर्माणको गहन अभिभारामा सबैलाई समावेश गराउने गरी संविधानलाई पूर्णता प्रदान गर्ने प्रतिबद्धता घोषणापत्रमा जनाइएको छ।
जनकपुरलाई अन्तर्राष्ट्रिय पर्यटन र अध्यात्मिक केन्द्रको रूपमा विकास गर्ने, जनकपुर विमानस्थललाई सुरुमा क्षेत्रीय र पछि अन्तर्राष्ट्रिय आधुनिक विमानस्थलको रूपमा स्तरोन्नति गर्ने राजपाको घोषणापत्रमा उल्लेख छ । वीरगन्जलाई आधुनिक सहरको रूपमा विकास गर्ने तथा विश्वका अन्य व्यापारिक र आर्थिक कारोबार हुने सहरहरूसँग सरकारीस्तरमै जोड्ने घोषणापत्रमा उल्लेख छ।
विराटनगर, भैरहवा र नेपालगन्ज नेपालको आर्थिक विकासको मेरुदण्ड रहेको भन्दै उसले निर्वाध विद्युत् आपूर्ति, औद्योगिक विकासको व्यवस्थापन, औद्योगिक सडकको निर्माण एवं स्तरोन्नति, श्रमिक विकास, प्राविधिक प्रशिक्षणलगायत विषयमा समेत जोड दिएको छ।
यसैगरी राजपाले लुम्बिनी विकास गुरुयोजनालाई तत्काल थप प्रभावकारी बनाउने, उच्च शिक्षा र वैदेशिक रोजगारमा जान चाहने युवाका लागि धरौटीसहित ऋण उपलब्ध गराउने, प्रदेश नम्बर २ मा निर्माण गरिने पहिलो दुई वटा पाँचतारे होटेललाई करमा पूर्ण छुट दिने, एक अर्बभन्दा बढी लगानीको अन्य कुनै पनि उद्योगलाई करमा ५० प्रतिशत छुट दिने प्रतिबद्धता जनाएको छ।
महिलाका लागि उच्च शिक्षा निःशुल्क गर्ने, नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविष्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा १० हजार रुपैयाँ अनुदान, दीर्घकालीन मुद्दति खाता खोली बैंकमा जम्मा गरिने, कम्तीमा १० जोड दुईसम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसूत्र वा सोबराबर रकम प्रदान गर्ने समेत राजपाले प्रतिबद्धता जनाएको छ।
घोषणासभामा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले संविधानको पूर्णता, समावेशीताको व्यावहारिक सुनिश्चितता, नागरिकता र भाषिक अधिकारको प्राप्ति एवं समग्र मधेस र थरूहटको द्रूत विकासको चाहनासँग कुनै सम्झौता नगर्ने स्पष्ट पारे।
संघर्ष जारी रहेको दाबी गर्दै उनले दोस्रो संविधानसभा निर्वाचनपछि अनेकौं अवसर, प्रलोभन र दबाबका बाबजुद राजपा नेपाल सरकारमा नगएको स्मरण गराउँदै ठाकुरले आफ्ना मुद्दालाई सत्ताभन्दा माथि राखेको बताए।
कांग्रेस : अन्यभन्दा लचक
कांग्रेस नेपालको सबैभन्दा पुरानो, लोकतन्त्रको हरेक संघर्ष र आन्दोलनको क्रममा अग्रपंक्तिमा रहेको भन्दै राजपाले यसको दर्शन, अवधारणा र घोषणापत्रमा लोकतन्त्रले पर्याप्त स्थान पाएको तथा मधेसी मुद्दाको सम्बोधनमा समेत लचक रहेको जनाएको छ।
लोकतान्त्रिक समाजवादलाई अंगालेको राजनीतिक दल भए पनि कांग्रेसले राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, धर्म निरपेक्षतालगायत मुद्दामा नेतृत्वदायी भूमिका खेलेको भन्दै उसले प्रशंसा गरेको छ । कांग्रेसलाई अनेकौं पटक जनताले बहुमत दिए पनि राष्ट्रिय र दूरगामी सोचको कमी, असक्षम र अदुरदृष्टि नेतृत्व तथा दलभित्रको गुट-उपगुटका कारण उसले त्यसको सदुपयोग गर्न नसकेको धारणा राजपाको छ।
कांग्रेसले संसदीय अभ्यासक्रममा परिवारवाद, नातावाद, सांसद खरिद-बिक्री, चुनावमा पैसा र बलको अत्यधिक प्रयोग, जनप्रतिनिधिको असंस्कारी र अलोकतान्त्रिक आचरण, दलीय फाइदाका लागि सरकारी ढुकुटीको दोहन, व्यापक भ्रष्टाचार आदि विसंगति भिœयाएको उसले जनाएको छ।
एमाले : नश्लीय सोचले असफल
नश्लीय सोचमा आधारित विचार, कार्यक्रम र मुद्दाका कारण एमालेले नेपालको राजनीतिमा संख्यात्मक उपस्थिति जनाए पनि आफ्नो औचित्य सावित गर्न नसकेको राजपाको आरोप छ । आफ्नै देशको एक तिहाई जनसंख्यालाई विदेशी, विखण्डनकारी र अन्तर्राष्ट्रिय भन्ने एमालेले राष्ट्रियताजस्तो अति संवेदनशील शब्दलाई पनि आफ्नो सुविधामा व्याख्या गरेको राजपाले दाबी गरेको छ।
चुनावमा अंकगणितीय अग्रताका लागि राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता र सामाजिक सद्भावलाई बिथोल्न पनि पछि नपर्ने राजनीतिक दल भन्दै राजपाले एमाले स्वरूपमा राजनीतिक दल देखिए पनि विचार, आचरण र व्यवहारले सिद्धान्तहीन, असंवेदनशील, चरम अवसरवादी, विकासविरोधी, सत्तालोलुप र सरकारमा जान जे पनि गर्न सक्ने र जोसँग पनि मिल्नसक्ने पहाडीमूलको उपल्लो जातिको संगठन भनेको छ।
माओवादी : अस्थिर दल
राजपाले नेकपा माओवादी केन्द्रलाई कतिखेर कुन नामले चिनिने, कुन स्वरूप वा आकारमा भेटिने वा नभेटिने वा फेरि कुनै अर्को पार्टीमा विलय नै हुने हो कि निश्चित नरहेको पार्टी भनेको छ । आफ्नो जन्मदेखि नै अनेकौं पटक संगठनको नाम र नेतृत्वमा परिवर्तन गरेको, कुनै पनि मुद्दामा टिक्न नसकेको, पटक-पटक आन्दोलनमा जाने तर बिनाकारण फर्किने, द्रुत गतिमा सहयात्री दल फेरिरहने, स्वरमा ठूलो तर शासनकालमा अत्यन्त फितलो भइदिने र हालका दिनमा आफ्नो अस्तित्व नै मेटेर अर्को दलमा समाहित हुने तयारीमा रहेको अत्यन्तै अस्थिर, अचम्मको र लोपोन्मुख दल भएको उसको दाबी छ।
माओवादीले नेपालमा गणतन्त्रको प्राप्तिमा, जनताको विचारोदयमा, समावेशीताको मुद्दा उठान गर्ने क्रममा र केही हदसम्म पहिलो संविधानसभामा सकारात्मक र परिवर्तनका मुद्दामा मजबुत योगदान दिएको उल्लेख छ।
वाम गठबन्धन : वाम शब्दकै अपमान
चुनावको मुखैमा आएर अत्यन्तै कटु सम्बन्ध भएका कम्युनिस्ट नामधारी दुई संगठनको मिलनलाई वाम गठबन्धन भन्दै जनताबीच गएकाहरूले ‘वाम’ शब्दकै अपमान गरेको आरोप राजपाले लगाएको छ । व्यक्ति हत्याबाट उठेर आएका एकले संसद् र अर्कोले जंगलबाट देशलाई दशकौं पछाडि धकेलेका, गरिबको मत प्राप्त गरेर तिनलाई झनै गरिब बनाएका, केही मतका लागि देशलाई विदेशीको क्रीडास्थल बनाउन पनि पछि नपरेका र तथाकथित उपल्लो जाति र वर्गका नेताको मात्र हालिमुहाली भएका संगठनको गठजोडलाई कसरी वाम गठबन्धन भन्ने भन्दै राजपाले प्रश्न गरेको छ।
गठबन्धनले मौका पाएमा तानाशाही लाद्ने वा अधिनायकवादको अभ्यास गर्ने दुस्साहस गर्न पछि नपर्ने उसको विश्लेषण छ। गठबन्धनले मौका पाएमा नेपाल फेरि एकपटक संघर्षको भुमरीमा फस्ने उसले दाबी गरेको छ।
‘मधेस एक राष्ट्र’
राजपाले राष्ट्रको परिभाषामा ‘मधेस एक राष्ट्र’ भन्ने उल्लेख गरेको छ । राजपाकै अध्यक्ष मण्डलका एक नेताले सो कुरामा असहमति जनाउँदै अन्नपूर्णसँग भने, ‘मधेस एक राष्ट्र हो भने मिथिला, भोजपुरा, अवध, थरूहट, कोचेमेचे पनि छुट्टाछुट्टै छ। यस्तो परिभाषा गर्दैमा राजपाले पाउने पनि केही होइन।’
आजको परिवेशमा संघीयताको अर्थ सिंहदरबारको अधिकार विकेन्द्रीकृत गर्दै मधेसीलाई सम्पन्न गराउनु भएको उनको दाबी छ । ‘त्यसैले एक मात्र राष्ट्र नेपाल हो, मधेस एक राष्ट्र हुनै सक्दैन’, उनले भने, ‘मधेस नेपालकै एक भू-भाग हो । जसले नेपालको एकता, अखण्डता र सार्वभौमसत्ताको लागि बलिदान गर्छ र गर्दै आएको छ।’