अन्य मुलुकभन्दा ६ गुणा बढी अर्थात् ६ लाख रुपैयाँसम्म पारिश्रमिक पाउने लोभमा कामको प्रकृति र आफ्नो प्रवृत्ति नबुझी कोरिया जाने नेपाली युवाहरु आत्महत्या रोज्न थालेका छन् । पछिल्लो समय मात्र १७ जनाको मृत्युमध्ये चार जनाले आत्महत्या गरेको खबरले कोरियाली सरकार तर्सिएको मात्र छैन, नेपाल सरकारलाई विशेष नीति नै बनाउन घच्घच्याइरहेको छ।
मध्यपूर्व र खाडी मुलुकमा काम गर्ने कामदारको तुलनामा ६ गुणा बढी पारिश्रमिक पाउने दक्षिण कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम बढेपछि त्यहाँको रोजगारी चुनौतीपूर्ण बन्दै गइरहेको छ।
अन्य मुलुकको तुलनामा जसरी कामदारको राम्रो कमाइ हुन्छ, त्यसरी नै ज्यान गुमाउने संख्या बढ्दा कोरियाको रोजगारी नेपाल र कोरिया सरकारको टाउको दुःखाइको विषय बन्दै गएको छ । कोरियामा बढ्दो आत्महत्या रोक्न दुबै देशका सरकारले नीति नै फेरबदल गर्ने तयारी गरिरहेका छन् । अन्य गन्तव्यको तुलनामा जति नै बढी कमाइ गरे पनि आत्महत्या गर्ने क्रम बढ्दा कोरियाको रोजगारी नेपालका लागि कमाइ र गुमाइ उस्तै भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ।
हाल रोजगारीका लागि खाडी मुलुक र मध्यपूर्व जाने कामदारको महिनाको सरदर पारिश्रमिक ३० हजार रुपैयाँ हो । खाडी र मध्यपूर्वमा गर्ने सोही खाले काम गर्दा नेपालीले कोरियामा भने महिनाको सरदर दुई लाख रुपैयाँ पाउने गर्छन् । कोरियाको श्रम ऐनले नै कामदारलाई एक लाख ४२ हजार रुपैयाँ भन्दा कम पारिश्रमिक दिन नपाइने व्यवस्था गरेको छ। वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखाका प्रमुख बाबुराम खतिवडा राम्रा कम्पनी फेला पारेका कतिपयले महिनाको तीन लाख रुपैयाँसम्म पारिश्रमिक पाउने गर्छन् । ‘नेपाली युवाले पाउने पारिश्रमिक, ओभरटाइम र बोनसको आधारलाई औसत मान्दा एक जनाले महिनाको दुई लाख रुपैयाँसम्म कमाउने देखिन्छ,’ उनले भने । कोरियामा ८० प्रतिशत भन्दा बढी कम्पनीले ओभरटाइम र बोनस सुविधा दिने गरेको बताइन्छ ।
पारिश्रमिकको दृष्टिकोणले अहिलेका गन्तव्यमध्ये उत्कृष्ठ मानिएको र कामदारको बसाइसमेत सुरक्षित, सहज ठानिएको कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम भने बर्सेनि बढ्दो छ । कोरिया जानकै लागि वर्षौंदेखि भाषा परीक्षाको तयारी गर्ने र कोरिया जान पाए जीवनमै ठूलो उपलब्धि हासिल गरेको ठान्ने युवाले कोरिया पुगेको केही समयमै आत्महत्या गर्नाले त्यसको कारण खोजी हुनुपर्ने आवाज पनि उठेको छ।
अहिलेसम्म नेपाली युवायुवती कोरियामा किन आत्महत्या गर्छन् भन्नेबारे गहिरो अध्ययन नभए पनि अधिकारीहरू कोरिया छनोटको प्रक्रियादेखि नै समस्या बल्झिएको अनुमान लगाउन थालेका छन् । इपिएस कोरिया शाखा प्रमुख खतिवडा कोरियन रोजगारदातालाई पाखुरा बलियो भएका युवा चाहिएको तर छनोट प्रक्रिया दिमागी प्रतिस्पर्धीलाई प्राथमिकता दिने खालको भएकाले समस्या सोही विन्दुबाट सुरु भएको बताउँछन्।
आत्महत्या रोक्न गतिलो प्रयास नगरिए कोरिया रोजगारी नेपालका लागि अर्थहीन हुनेसम्मका अनुमान गर्न थालिएका छन्। इपिएस कोरिया शाखाका अनुसार सन् २०१७ सकिन चार महिना बाँकी रहँदाको अवधि (अगस्ट) सम्म कोरियामा १७ जनाको मृत्यु हुँदा चार जनाले आत्महत्या गरेका छन्।
ठूलो संख्याका व्यक्तिसँगको चर्को प्रतिस्पर्धा तथा निकै लामो समयसम्म कोरियन भाषा सिकेर कोरिया पुगेका युवायुवतीले किन आत्महत्याको बाटो रोज्छन् त ? इपिएस शाखा प्रमुख खतिवडा भन्छन्, ‘कामदारलाई कोरिया लैजाने छनोट प्रक्रिया नै गलत छ ।’ उनका अनुसार थ्रिडी (डर्टी, डेन्जरस र डिफिक्ल्टी) काम गर्न लैजाने कामदारको छनोट प्रक्रिया अध्ययन, अनुसन्धान गर्न लैजाने सरहको हुँदा समस्या वृद्धि भइरहेको हो । ‘घरमा रहँदा खेतीबारीमा पाइला नटेकेका युवायुवती भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जान्छन्,’ खतिवडाले भने, ‘भाषा परीक्षा उत्तीर्ण गर्नु र कोरिया गएर तिनै थ्रिडीको काम गर्नु पर्दा कैयन युवायुवती डिप्रेसनमा परेर आत्महत्यासम्मको बाटो रोज्न पुग्छन्।’
शाखाका अनुसार कोरियामा सन् २०१६ मा ११ जनाको निधन हुँदा तीन जनाले आत्महत्या गरेका थिए । कोरियामा आत्महत्या गर्ने क्रम नरोकिएपछि रोकथामका उपाय सुरु गर्न पीडितहरूले पटकपटक आवाज उठाउँदै आए पनि अहिलेसम्म ठोस योजना भने बन्न सकेको छैन।
श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनाली रोजगारीका लागि कोरिया पुगेका कामदारले निरन्तर रूपमा आत्महत्या गर्ने क्रम नरोकिएपछि नेपाल र कोरिया सरकार गम्भीर हुनुपर्ने बेला आएको बताउँछन् । ‘आफू र परिवारको सुन्दर भविष्यको सपना बुन्दै कोरिया पुगेको व्यक्तिले किन धमाधम आत्महत्या गरिरहेका छन् भन्नेबारेमा अध्ययन गर्न मन्त्रालयले विशेषज्ञ चिकित्सकको टोली कोरिया पठाउने सोच बनाइरहेको छ,’ मैनालीले भने, ‘काम गर्न गएका व्यक्तिको आत्महत्या वृद्धि दर देख्दा ठोस योजना बनाउनै पर्ने भएको छ।’
शाखाका अनुसार सन् २००७ यता कोरिया गएकामध्ये एक सय ३० जनाको निधन हुँदा ३६ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा अधिकांश २२ देखि २८ वर्षका युवायुवती रहेको बताइएको छ । शाखाले सोही अवधिमा एक जनाको मात्र स्वभाविक मृत्यु भएको जनाएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) सुरु भएयता (सन् २००७) मात्र कोरियामा ज्यान गुमाउने र आत्महत्या गर्ने नेपालीको विवरण राख्न थालिएको हो । इपिएस सुरु भएदेखि कात्तिक मसान्तसम्म ४९ हजार छ सय ८४ नेपाली कामका लागि कोरिया पुगेका छन्।
कतिपय विज्ञ कोरियामा आत्महत्याका घटना निरन्तर वृद्धि भइरहनुको कारण कोरिया जानु अघि त्यहाँको यथार्थ विवरण कामदारलाई नदिनुलाई ठान्छन् । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा श्रम विज्ञ गणेश गुरुङ कोरिया के हो र गर्नुपर्ने कामबारे यथार्थ जानकारी दिन सक्ने हो भने स्वदेशमा रहँदासम्म काम नगरेका व्यक्तिले कोरिया जाने इच्छा त्याग गर्न सक्छन् । ‘यतिखेर सबैले कोरियालाई विकसित देश भन्दै राम्रो पारिश्रमिक मात्र पाइन्छ भनेर प्रचार गर्ने गरेका छन्,’ उनले भने, ‘कोरियामा गाउँ पनि छन् । त्यहाँ गर्नुपर्ने काम निकै जटिल छ भनेर कोरिया जानु अघि नै सिकाउने हो भने समस्यामा कमी आउन सक्छन्।’
चार वर्ष कोरियास्थित नेपाली राजदूतावासमा श्रम सहचारीको रूपमा काम गरी हालै सेवानिवृत्त भएका अनिल गुरुङ कोरियामा नेपालीले आत्महत्या गर्नुको कारणमा मालिकको व्यवहार, फरक संस्कृति तथा घरपरिवारले उनीहरूबाट धेरै अपेक्षा गर्ने आर्थिक पाटोले सघाइरहेको बताउँछन् । ‘कोरिया फिल्ममा हेरेको जस्तो छैन,’ उनले भने, ‘तर, नेपालमा रहँदा भने कोरियालाई फिल्मको आँखाले मात्र हेरिन्छ।’
उनले काम गर्न सक्नेका लागि कोरिया निकै राम्रो भए पनि काम नगरी केवल कुरा मात्र गर्नेका लागि उपयुक्त छैन भन्ने कुरा बुझाउन आवश्यक रहेको बताए । मानसिक रोग विशेषज्ञ रवि शाक्य आत्महत्याको प्रमुख कारण डिप्रेसन रहेको बताउँछन् ।
एक तिहाई मृत्यु सुतेकै अवस्थामा
रोजगारीका लागि कोरिया पुगेका युवायुवतीको निधन सुतेकै अवस्थामा हुने गरेको तथ्य समेत खुलेको छ। आत्महत्याका घटना वृद्धि हुँदै गइरहेको बेला ठूलो संख्याका युवायुवतीको मृत्युको कारण खुल्न नसकेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरिरहेकै बेला उक्त तथ्य फेला परेको हो।
चार वर्ष कोरियास्थित नेपाली राजदूतावासमा श्रम सहचारीको रूपमा काम गरी केही महिनाअघि सेवानिवृत्त भएका अनिलकुमार गुरुङले कोरियामा नेपाली कामदारको बढ्दो मृत्युको कारणबारे गरेको अध्ययनमा उक्त तथ्य फेला परेको हो।
‘रोजगारीका लागि कोरिया पुगेका युवाको निधनको मुख्य कारण सुतेकै अवस्थामा हुने गरेको छ,’ गुरुङले भने, ‘बेलुका राम्रोसँग सुतेका युवा बिहान मृत फेला पर्नुको कारण अत्यधिक मदिरा सेवन हो।’ कोरिया शाखाका अनुसार सन् २०१७ को आठ महिनामा १६ युवायुवतीको निधन हुँदा चार जनाले आत्महत्या गरेका थिए भने चार जना सुतेको अवस्थामा मृत फेला परेका थिए । पछिल्लो आठ महिनामा कार्यस्थल दुर्घटनामा चार जनाको निधन हुँदा तीन जनाको मृत्युको कुनै कारण खुलेन भने एक जनाको मात्रै स्वभाविक मृत्यु भएको शाखाले जनाएको छ।
रोजगारीका लागि कोरिया पुगेकामध्ये हालसम्म मृत्युको पहिलो कारण (३० प्रतिशत) सुतेकै अवस्थामा हुने गरेको छ। सुतेकै अवस्थाको निधनपछि २८ प्रतिशतले आत्महत्या गरेका छन् । मृत्युको तेस्रो कारण कार्यस्थल दुर्घटनामा १६ प्रतिशत, बिरामी भइकन १५ र सडक दुर्घटनाबाट सात प्रतिशतले ज्यान गुमाएको पाइएको छ। रोजगारीका लागि कोरिया पुगेकामध्ये सन् २००७ यता सबभन्दा बढी २३ जनाले सन् २०१५ मा ज्यान गुमाएका छन्।
‘छनोट प्रक्रिया नै गलत छ’
बाबुराम खतिवडा
प्रमुख, इपिएस कोरिया शाखा
रोजगारीका लागि आकर्षक मानिएको कोरिया पुगेका युवायुवतीले गर्ने आत्महत्याको कारणबारे अहिलेसम्म गहिरो अध्ययन त भएको छैन । त्यसैले के कारणले आत्महत्या गरिरहेका छन् भनेर सहजै भन्न सकिने अवस्था छैन ।
मेरो आफ्नो सरसर्ती अध्ययन अनुसार कोरिया जानका लागि हामीले अपनाएको छनोट प्रक्रिया नै गलत छ जस्तो लाग्छ । कोरिया सरकारले नेपालबाट कामदार लैजानुको कारण त्यहाँका नागरिकले नगरेको काम गर्नलाई हो । थ्रिडी भनेर चिनिने काम त्यहाँका नागरिकले नगरेपछि कोरियन सरकारले अन्य देशबाट कामदार लैजान थालेको हो । नेपाली कामदार लैजानुको उद्देश्य पनि थ्रिडी काम गर्नकै लागि हो । सोही काम गर्न सुरुका वर्ष कोरिया पुगेका नेपालीले राम्रै काम पनि गरे। जसले गर्दा कोरियाली मन जित्न सके।
नेपालमा बेरोजगारी दर बढ्दै गएपछि त्यहाँको थ्रिडी रोजगारीमा विश्वविद्यालयको डिग्री हासिल गरेका युवायुवती समेत जान थाले। भाषा परीक्षा पनि यति धेरै गाह्रो बनाइएको छ कि सामान्य पढेलेखेकाले उत्तीर्ण गर्न नै सक्दैनन् । पछिल्लो समयमा कोरियन भाषा परीक्षा उत्तीर्ण गर्ने अधिकांश स्नातक, स्नातकोत्तर तहको अध्ययन गरेका हुन्छन् । जबकि उनीहरू नेपालमा रहँदासम्म खेतीबारिको काम गर्नु त के खेतबारिमा पसेका समेत हुँदैनन्।
अध्ययनको नाममा सहरीया जीवन बिताउँदै आएका युवायुवती एक्कासि कोरिया पुगेर ८–१२ घण्टा उभिएर काम गर्नुपर्दा निकै पीडा हुने अनुमान गर्न सकिन्छ। स्वदेशमा रहँदाको स्वतन्त्रता विदेशमा हुँदैन। घरमा रहँदा आफूले लगाएको कपडासमेत अरुलाई धुन लगाउनेहरू घोटिएर काम गर्नुपर्दा निकै तनावमा हुन्छन्। र, आत्महत्या गर्छन् जस्तो लाग्छ ।
फेरि नेपालमा बस्ने सबैले कोरियाको बारेमा केवल सकारात्मक कुरा मात्रै गर्छन् । कोरिया जान पाउनु स्वर्गमा जाने अवसर पाए जसरी व्याख्या गर्छन्। त्यसैले अब हामीले कोरिया जानु अघि हरेक युवायुवतीलाई कोरिया भनेको सपनाको सहर नभई थ्रिडी काम गर्नका लागि बोलाइएको हो भनेर सम्झाउन जरुरी छ। कोरियामा जटिल काम गर्नुपर्छ भन्दै युवायुवतीलाई मानसिक रुपमा तयार गर्नुपर्छ । नत्र समस्या अझै बल्झिन सक्छ।
अभिमुखीकरण पाठ्यक्रम परिवर्तन गर्दैछौं
रघुराज काफ्ले
कार्यकारी निर्देशन वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड
हाल रोजगारीका लागि कोरिया जाने कामदारलाई ६ दिनको अभिमुखीकरण दिने दिने गरिन्छ । हालको अभिमुखीकरण पाठ्यक्रममा कामदारलाई व्यवहारिक भन्दा सैद्धान्तिक ज्ञान बढी दिइने गरेकाले लामो समयदेखिकै माग अनुसार पाठ्यक्रम परिवर्तन गर्न गइरहेका छौं।
एकातिर कोरिया जाने कामदारलाई आवश्यक ज्ञान सिकाइने अभिमुखीकरण पाठ्यक्रम पुरानो भइसकेको र अर्कोतर्फ युवायुवतीले आत्महत्या गर्ने क्रम बढेपछि सोही पाठ्यक्रम परिमार्जन गर्ने तयारी थालेका हौं। कोरियाको मानव संशाधन विभाग अन्तर्गत इपिएसका नेपाल प्रतिनिधि लगायत सबै निकायले पुरानो अभिमुखीकरण पाठ्यक्रम परिमार्जन गर्न आवश्यक रहेको सुझाव दिइसकेका छन्।
‘इपिएसको साटो डब्लुपिएस चाहिन्छ’
उदय राई
अध्यक्ष, प्रवासी मजदुर संगठन कोरिया
कोरियामा कामदार समस्यामा पर्नुको मुख्य कारण रोजगार अनुमति प्रणाली (इपिएस) हो । नेपालमा प्रचार गरिएजस्तो इपिएसमार्फत् कोरिया पुग्ने कामदारले सेवा, सुविधा पाउन सकेका छैनन् । कोरियामा हाल विश्वभरिका करिब १० लाख आप्रवासी कामदार छन् । जसमध्ये दुई लाख ७५ हजार मजदुर इपिएसमार्फत् पुगेका हुन् ।
संविधान हेर्ने हो भने कोरियाको कानुन कामदारमैत्री नै देखिन्छ । कोरियन सरकारको व्यवहार आप्रवासी कामदारलाई हक, अधिकार प्रदान गर्ने कहिलै सकारात्मक देखिएको छैन। इपिएसमार्फत् कोरिया पुगेकाको अवस्था त झन् निरीह छ।
इपिएसमार्फत् कोरिया पुगेका कामदार शोषणमा पर्ने क्रम नरोकिएपछि हाम्रो संगठनले पछिल्लोपटक इपिएस (रोजगार अनुमति प्रणाली) को साटो डब्लुपिएस (कामदार अनुमति प्रणाली) को आवाज उठाइरहेको छ। जसरी नेपालमा कुनै व्यक्ति कोरिया पुग्दैमा सबैथोक प्राप्ती गरेको ठान्निछ । त्यसरी नै कोरियामा भने रोजगारदाताको व्यवहार निकै फरक छ। यसको कारण इपिएस नै हो । इपिएस भनेको प्रेसर कुकरमा जे सामान राख्यो, त्यस्तै माग्ने सामान जस्तै हो । प्रेसर कुकरमा दाल राखिएको छ भने दाल नै पाक्ने हो । इपिएसको मूल उद्देश्य कामदारको नभई रोजगारदाताको सुरक्षा गर्ने भएकाले हामीले इपिएस खारेज गरी डब्लुपिएसको माग गरिरहेका हौं
इपिएसमार्फत् कोरिया पुगेका कामदार सम्झौता अवधिभर साहुको नियन्त्रणमा बस्नु पर्ने हुन्छ । रोजगारदाताले राम्रो पारिश्रमिक दिएन, शोषण ग¥यो या कामदार स्वयम्लाई आफूले गरिरहेको काम चित्त नबुझे पनि इपिएसमार्फत कोरिया पुगेका श्रमिकले अर्को रोजगारी खोज्न सक्दैनन् । जबकि अन्तर्राष्ट्रिय श्रम संगठनको मान्यता अनुसार श्रमिकलाई मन नलागेको काम छाड्ने तथा सेवा सुविधाका लागि मालिकसँग सौदाबाजी गर्ने हक, अधिकार हुने व्यवस्था छ । यति मात्र होइन नेपालबाट इपिएसमार्फत कोरिया जाने कामदारको सम्झौता ४ वर्ष १० महिनाको हुने भनिए पनि साहुले मन नपाएको खण्डमा ३ वर्षमै कामदारलाई स्वदेश फिर्ता गर्ने अधिकार इपिएसले रोजगारदातालाई दिएको छ।
इपिएसमार्फत् कोरिया पुगेका कामदारले साहुसँग सेवा, सुविधाबारे कुरा गर्न सक्ने हैसियत हुँदैन। कोरियन भूमिमा पुगेपछि कामदारमाथि हुने अत्याचार चरम हुन्छ। कोरियामा पुगेका नेपालीले आत्महत्या गर्ने क्रम बढ्नुमा रोजगारदाताको अत्यधिक शोषण हो।
‘कोरिया जान उत्साही छु’
कल्पना श्रेष्ठ
कोरियन भाषा विद्यार्थी
स्नातक तहको अध्ययन पूरा गरे पनि स्वदेशमा कुनै रोजगारी पाइएन । आफ्ना मान्छेले मात्र रोजगारी पाउँछन् । राजनीतिक अस्थिरताले थप संकट निम्त्याइरहेको छ । देशमा केही गर्न खोजे पनि काम गर्न सक्ने वातावरण छैन । कोरिया तयारीका लागि अघिल्लो वर्ष ४० र यो वर्ष ३० हजार रुपैयाँ खर्च भइसक्यो । तैपनि मलाई रकम खर्च भएकोमा कुनै चिन्ता छैन । कोरिया जान पाउनेमा निकै उत्साही छु।
मनोसामाजिक परामर्श अनिवार्य
रोजगारीका लागि कोरिया जाने युवायुवतीले आत्महत्या गर्ने क्रम बढेपछि अब त्यहाँ रोजगारीमा जानु अघि मनोसामाजिक परामर्श दिइने भएको छ।
काम गर्न गएका युवायुवतीले धमाधम आत्महत्या गर्ने क्रम बढ्दा कोरियन सरकारले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो बेइज्जत भएको भन्दै नेपाललाई आत्महत्या रोक्ने कार्यक्रम सञ्चालन गर्न दबाब दिन थालेपछि अनिवार्य मनोसामाजिक परामर्शको व्यवस्था गरिन थालेको हो।
हरेक दुई÷दुई वर्षमा नेपाल र कोरियाबीच हुने गरेको श्रम सम्झौताको नवीकरणको मौका पारेर अबको सम्झौताका सर्तमा मनोसामाजिक परामर्शको प्रावधान राख्ने तयारी भइरहेको श्रम तथा रोजगार मन्त्रालयका उपसचिव शिवराम पोखरेलले बताए।
‘कोरियाको मानव संशाधन मन्त्रालयका अधिकारीले आत्महत्याबारे पटक पटक चासो राखेपछि मनोसामाजिक परामर्श दिने व्यवस्था गर्ने प्रस्ताव गरेर कोरिया पठाएका छौं,’ उनले भने, ‘कोरियाले उक्त प्रस्तावमा सहमति जनाएपछि अबको सम्झौतामा मनोसामाजिक परामर्श अनिवार्य हुन्छ।’
आत्महत्या रोक्नका लागि कोरियन अधिकारी नै विभिन्न प्रयासमा रहेकाले मन्त्रालयले गरेको प्रस्तावमा सहमति जुट्ने अपेक्षा गरिएको छ । कोरियामा कस्तो खाले सेवा, सुविधा र सर्तमा कामदार पठाउने भन्नेबारेको नेपाल–कोरियाबीचको दुई वर्षे श्रम सम्झौता आउँदो डिसेम्बरमा समाप्त हुँदैछ।
सजिलो छैन कोरिया जान
रोजगारीका लागि कोरिया पुगेका व्यक्तिहरूले आत्महत्या गर्ने क्रम बढे पनि कोरिया जान भने त्यति सहज छैन ।
कोरिया जानका लागि सबभन्दा पहिला कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ । कोरियाको मानव संशाधन विभागले बर्सेनि तय गर्ने कोटामा पर्न भाषा परीक्षा उत्तीर्ण गरेर मात्र पुग्दैन । चर्को प्रतिस्पर्धाबाट तय गरिएको कोटाभित्र पर्न सक्नु पर्छ ।
परीक्षामा सहभागी हुनु अघि कोरियन भाषा सिक्न प्रायः युवायुवतीले कम्तीमा ६ महिना बढी समय खर्चेका हुन्छन् । सन् २०१८ मा उड्न पाउने गरी गत जेठ २७ र २८ गते भएको भाषा परीक्षामा ६८ हजार तीन सय ८३ जनाले प्रतिस्पर्धा गरेका थिए । कोरियाको मानव संशाधन विभागले तोकेको १० हजार पाँच सय कोटाका लागि केही दिन अघि प्रकाशन गरिएको नतिजामा १२ हजार एक सय आठ युवायुवती उत्तीर्ण भएका छन्।
भाषा परीक्षा उत्तीर्ण गरी स्वास्थ्य परिक्षणमा सफल भएकालाई कोरियन रोजगारदाताले कामको अफर गरेपछि मात्र उनीहरू कोरिया जान पाउने इपिएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताए। ‘त्यसैले हामीले भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीको ग्यारेन्टी होइन भन्दै आएका छौं,’ उनले भने, ‘कोरियन रोजगारी नदिएसम्म कोरिया जान पाइन्छ भनेर विश्वास गर्नु हुँदैन।’
अघिल्लो वर्ष कोरियाले तीन हजार एक सय कोटा निर्धारण गर्दा ६१ हजार पाँच सय युवायुवतीले भाषा परीक्षाको प्रतिस्पर्धा गरेका थिए।
युवाको रोजाइमा पर्नुको कारण
सन् १९८० को दशकमा आर्थिक प्रगति गरेको मुलुक हो कोरिया । सन् १९६० सम्म आर्थिक अवस्था सन्तोषजनक नरहेको कोरियाले जब उत्पादन क्षेत्र र उद्योगलाई जोड दिँदै विकासका रणनीति तय ग¥यो। त्यसपछि उसले आफ्नो आर्थिक अवस्था त बदल्यो नै विश्वमै तीव्र रूपमा आर्थिक उन्नति गर्ने देशको रूपमा चिनायो। रहस्यमय तरिकाले आर्थिक उन्नति गरेकाले एसियन टाइगरको रूपमा समेत कोरियाले संसारभर नाम कमायो।
उत्पादन र उद्योगको विकासले आर्थिक अवस्था सुधार हुन्छ भन्ने मूल मान्यतालाई बढाउने क्रममा कोरियाले सन् २००८ देखि नेपालबाट कृषि र उद्योग क्षेत्रमा काम गर्न युवायुवती लैजान थालेको हो। स्वदेशमा कृषिको काम गर्न अप्ठेरो मान्ने युवायुवती पछिल्लो समयमा भने सोही काम गर्न मरिहत्ते गर्न थालेका छन्। कोरिया मोहमा परेका युवायुवतीका अनुसार नेपालमा बसेर कृषि क्षेत्रमै काम गर्न खोजे पनि सरकारी संयन्त्र सहयोगी नभएकाले विदेश पस्न बाध्य हुनु परेको हो।
जिटुजी (नेपाल र कोरिया सरकार) प्रक्रियाबाट कोरिया जान पाइने व्यवस्था भएकाले जाँदा लागत खर्च कम र उता गइसकेपछि तोकिएकै रोजगारी पाउने व्यवस्थाले धेरैलाई लोभ्याएको हो। कोरियाको श्रम ऐन प्रभावकारी भएकाले त्यहाँ काम गर्नेहरूलाई रोजगारदाताले एक रुपैयाँ पनि ठगी गर्न पाउँदैनन्। ठगी गर्ने रोजगारदाता तुरुन्तै खारेजीमा पर्ने गरेका छन्। सम्झौता अनुसार कामदारले पाउनु पर्ने कुनै सुविधा नपाएको गुनासो पर्ने बित्तिकै कामदारलाई सहयोग गर्न सरकारी संयन्त्रले सशक्त रूपमा काम गरेको हुन्छ। कोरियाका रोजगारदाताले कामदारलाई तोकिए भन्दा बढी काम लगाउने बित्तिकै अतिरिक्त ज्याला दिनुपर्छ।
हालसम्म कोरिया जानेको संख्या
वर्ष सन्मा महिला पुरुष
२००८ ८१ २७३३
२००९ ६४ १८४७
२०१० ४२२ १९१७
२०११ १३७ ३८४६
२०१२ ३९५ ५९३७
२०१३ १८३ ४८६३
२०१४ ४४१ ५५८७
२०१५ ४०६ ५४६०
२०१६ ५७८ ७५०१
२०१७ ३५२ ६९३४
जम्मा ३,०५९ ४६,६२५
स्रोतः इपिएस कोरिया शाखा
नागरिक शुक्रबारबाट,सोमबार, ०४ मङि्सर २०७४, ०४ : ०७