‘जिम्बाब्वे दोस्रो पटक स्वतन्त्र भयो’ १८ नोभेम्बर २०१७ मा राजधानी हरारेमा भएको हजारौंहजारको प्रदर्शनको समयमा एक प्रदर्शनकारीले भनेको माथिको उक्तिलाई १८ नोभेम्बरको दिन ब्रिटिस दैनिक गार्जियनमा हरारेबाट इम्मा ग्राहम-ह्यारिसनले लेखेकी छन् ।
सडकमा सैनिकहरूलाई देख्नेबित्तिकै प्रदर्शनकारीले उनीहरूलाई अँगालो मार्दै अघि बढ्ने गरेकोबारे जेफ्रे मोयोले हरारेबाटै न्युयोर्क टाइम्समा लेखेका छन् ।१९ नोभेम्बरमा राष्ट्रपति रोबर्ट मुगावेले नेतृत्व गर्दै आएको जिम्बाब्वे अफ्रिकन नेसनल युनियन-प्याट्रियोटिक फ्रन्ट (जानु—पिएफ) को केन्द्रीय समितिले उनलाई सो दलको नेताबाट निकाल्यो । उक्त पदमा ६ नोभेम्बरका दिन उपराष्ट्रपति पदबाट मुगावेले हटाएका इमर्सन मनांगाग्वा निर्वाचित भए । २० नोभेम्बरसम्ममा राष्ट्रपतिको पदबाट राजीनामा नगरे मुगावेलाई महाभियोग लगाएर हटाइने चेतावनी पनि पार्टीले दिएको छ ।
जानु-पिएफले मुगावेकी ५२ वर्षीय महत्वाकांक्षी पत्नी ग्रेस मुगावे र उनले स्थापना गरेको जानु-पिएफको शक्तिशाली जी ४० समूहका प्रमुख व्यक्तिहरूलाई पनि पार्टीबाट निष्काशन गरेको छ।
१५ नोभेम्बरको दिन ३७ वर्षदेखि सेना र प्रहरीकै बलमा निरंकुश शासन चलाइरहेका राष्ट्रपति मुगावेविरुद्ध सेनाले सावधानीपूर्वकको हस्तक्षेप गरेको थियो । सेनालाई समर्थन गर्दै मुगावेलाई सत्ता छोड्न दबाब दिने उद्देश्यले नोभेम्बर १८ का दिन जिम्बाब्वेको राजधानी हरारेलगायत विभिन्न सहरमा विशाल प्रदर्शन भएका थिए ।
१९८० देखि निरन्तर आफ्नो दलसहित निरंकुश शासन सञ्चालन गरिरहेका क्रान्तिकारी वामपन्थी जानु—पिएफका नेता ९३ वर्षीय रोबर्ट मुगावेलाई सेनाले दैनिक राज्य सञ्चालनमा रोक लगाएको छ । उनी सेनाको नियन्त्रणमा छन् । सेनाले सुरक्षाकै लागि मुगावेलाई नियन्त्रणमा लिएको जनाएको छ । नोभेम्बर १७ मा उनी राजधानीको एउटा विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि उपस्थित थिए ।
वर्तमान सत्ता संकटको आरम्भ राष्ट्रपति मुगावेले उपराष्ट्रपति इमर्सन मनांगाग्वालाई पदमुक्त गरेपछि सुरु भएको हो । त्यसको मूल मर्म भनेको वृद्ध राष्ट्रपति स्वास्थ्य वा उमेरको कारण कुनै पनि समय आफ्नो पदभार ग्रहण गर्न नसक्ने भएमा वा अकस्मात उनको मृत्यु भएमा मुगावेकी पत्नी ग्रेस मुगावेलाई राष्ट्रपतिमा पदस्थापन गर्नमा कुनै अवरोध नआओस् भन्ने मुगावे—ग्रेस रणनीति बुझेरै सत्ताकेन्द्रहरू मुगावेसँग चिढिएका देखिन्छन् ।
ग्रेस मुगावेले उपराष्ट्रपति मनांगाग्वालाई आइसक्रिममा वीष मिलाएर खुवाएको आरोप उपराष्ट्रपतिले लगाएपछि उपराष्ट्रपति र राष्ट्रपति पत्नीबीचको सम्बन्धमा निकै ठूलो तनाव आएको र ग्रेसकै दबाबमा राष्ट्रपतिले उपराष्ट्रपतिलाई निष्कासन गरेको फिनान्सियल टाइम्सलगायतका अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले लेखेका छन् ।
ग्रेस पहिला राष्ट्रपति भवनमा टाइपिस्टको पदमा कार्यरत थिइन् । मुगावे उनका दोस्रा पति हुन् । मुगाबेकी पनि उनी दोस्री पत्नी हुन् । आफ्नो पति जीवित रहँदासम्म मात्रै होइन, उनको मृत्युपछि उनको लासलाई नै राष्ट्रपतिको निर्वाचनमा उठाइदिए उक्त लासले पनि चुनाव जित्ने ग्रेसले बताएको बारे बीबीसीले उल्लेख गरेको छ । ग्रेसले २०१४ देखि नै आफू राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुने सम्भावना रहेको बारे बताउँदै आएकी छन् ।
राजनीतिक स्थिरता र समृद्धिको आकर्षक नारा र सपना पस्किएकै भरमा जो कसैलाई स्वीकार्न सकिन्न भन्ने शिक्षा नेपालका लागि जिम्बाब्वे, भेनेजुएला वा उत्तर कोरियाले दिएका छन् ।
पार्टीको केन्द्रीय समितिको स्वीकृतिबिना भएको उपराष्ट्रपतिको निष्कासनलाई पार्टीले अनुमोदन गरेन, बरू मुगावेलाई हटाएर मनांगाग्वालाई नै पार्टी नेतृत्व प्रदान गरेको माथि उल्लेख भइसकेको छ । अर्कोतिर, जानु—पिएफ दलको स्वतन्त्रता संग्राममा संलग्न सेनाबाट नै विकास भएको सेनाले सत्ता आफ्नो हातमा लिनुभन्दा पनि स्वतन्त्रता संग्रामकै वरिष्ठ नेता तथा मुलुकको जासुसी विभागका पूर्व प्रमुखसमेत रहेका उपराष्ट्रपतिको पुनस्र्थापनाको मात्र लक्ष राखेको देखिन्छ ।
आफ्ना पदीय स्वार्थरक्षाका लागि मुलुकको बृहत्तर सामाजिक, आर्थिक र राजनीतिक हितलाई तिलान्जली दिँदै आएका लामो राजनीतिक अनुभव सँगालेका मुगावे आफ्नो राजीनामालाई पर सार्दै अन्ततः आफ्नै रणनीतिक योजनाअनुसार मुलुकको राजनीतिक मार्गदर्शन गर्न चाहिरहेका देखिन्छन् । रोयटर्सअनुसार मुगावेको शक्तिको स्रोत रहेको पुलिस पनि वर्तमान सन्दर्भमा सेनासँगै उभिएको देखिन्छ। सैन्यसमर्थनको बलमा टिकेको वामपन्थी अधिनायकवादले जर्जर बनाएको जिम्बब्वेको भविष्यबारे निश्चितरूपमा भन्न सकिने अवस्था भने छैन ।
गौरवपूर्ण इतिहास र असीमित सम्भावनाको जिम्बाब्वे
जाम्बेजी र लिम्पोपो नदी मध्यको जिम्बाब्वे ११ सय वर्षअघि अफ्रिकाको समृद्ध र शक्तिशाली राष्ट्र थियो । ग्रेट जिम्बाब्वे भनिन्थ्यो । अत्यन्त उर्बर जमिन, घना जंगल, ठूलाठूला घाँसेमैदान विश्वकै सबैभन्दा ठूलामध्येका सुनखानीका पहाडहरू र जमिनमुनी पनि सयौं किलोमिटरमा विस्तारित त्यस्तै विराट सुनका खानीहरू भएको जिम्बाब्वेले उन्नत सभ्यताको विकास गरेको थियो । विश्व सम्पदा सूचीमा परेका प्राचीन सभ्यताका अवशेषहरूले अहिले पनि त्यसको परिचय दिइरहेका छन् ।
जिम्बाब्वे आन्तरिक स्वायत्ततासहितको ब्रिटिस उपनिवेश थियो । दोस्रो विश्व युद्धपछिको उपनिवेशवादविरोधी लहरमा अफ्रिका पनि समेटियो । त्यसलाई व्यवस्थापन गर्ने क्रममा १९५३ देखि १९६१ सम्म मध्य अफ्रिकाका मलावी, जाम्बिया र जिम्बाब्वे (तत्कालीन न्यासाल्यान्ड, नोर्दन रोडेसिया र साउदर्न रोडेसिया)ले स्वतन्त्रताका लागि एउटा संघ गठन गरेका थिए ।
ब्रिटिस प्रधानमन्त्री हेरोल्ड म्याक्मिलन अफ्रिकामा आएको परिवर्तनको लहरलाई स्वीकार्ने तयारी गरिरहेका थिए । अमेरिका पनि बेलायत, फ्रान्स, पोर्चुगल, स्पेनलगायतका युरोपीय राष्ट्रहरूलाई अफ्रिकामा उनीहरूका उपनिवेशलाई स्वतन्त्रता प्रदान गर्न दबाब दिइरहेको थियो ।
तर आन्तरिक राजनीतिक मतभेदले गर्दा मलावी, जाम्बिया र जिम्बाब्वेको संघमा विभाजन आयो । त्यसपछि १९६१ मा दक्षिण रोडेसिया हालको जिम्बाब्वेमा स्वेत रोडेसियाली जनताका नेता इयान डगलस स्मिथले रोडेसियन फ्रन्ट नामको पार्टी खोले । १९६२ मा भएको निर्वाचनमा रोडेसियन फ्रन्टले विजय हासिल गर्यो तर स्मिथले अर्का उदार स्वेत रोडेसियाली र ब्रिटेनका राजनीतिक प्रभाव भएका विन्स्टन फिल्डलाई प्रधानमन्त्री बन्न आमन्त्रण गरे । आफू उपप्रधानमन्त्री भएर बसे । तर फिल्डको ऊर्जाहीन नेतृत्वबाट निराश स्मिथ अन्ततः अप्रिल १९६४ मा आफैं प्रधानमन्त्री भए ।
उता अक्टोबर १९६४ मा भएको ब्रिटेनको आम चुनावमा लेबर पार्टी विजयी भयो र रोडेसियाको स्वतन्त्रताको कट्टर समर्थक हेरोल्ड विल्सन बेलायतको प्रधानमन्त्री भए । विल्सनले शासनमा अस्वेत समुदायको प्रभुत्व रहनेगरी रोडेसियाको स्वतन्त्रताको घोषणा गर्नै लागेको बुझेपछि ११ नोभेम्बर १९६५ मा स्मिथले एकतर्फी रूपमा रोडेसियाको स्वतन्त्रताको घोषणा गरे ।
स्मरणीय छ, रोडेसियाका स्वेत समुदाय मुलुकको स्वतन्त्रता चाहन्थ्यो तर बहुसंख्यक अस्वेत समुदायलाई सत्तामा सहभागी गराउने निश्चित भएपछिमात्रै रोडेसियालाई स्वतन्त्रता दिने ब्रिटेनले बताइरहेको सन्दर्भमा स्मिथले त्यस्तो मौका छोपेका थिए ।
स्वेत रोडेसियालीहरूमाथि ब्रिटेनले जबर्जस्ती माक्र्स, लेनिन र माओबाट प्रभावित अस्वेत अफ्रिकीहरूको शासन लाद्ने अवस्थामा पुगेको ठहर गरेर स्वेत रोडेसियालीहरूको भावनाको प्रतिनिधित्व गर्दै आफूले एसिया र अफ्रिकाका कम्युनिस्टहरूसामू आत्मसमर्पण गर्न अस्वीकार गरेको घोषणा स्मिथले गरेका थिए ।
२५ अप्रिल १९७४ मा दक्षिणी युरोपको पोर्चुगलमा वामपन्थी रुझानका सैनिकहरूले विद्रोह गरे । मर्क्सवादी लेनिनवादीहरूको प्रभुत्व स्थापना भयो । पोर्चुगलले एक्कासी मोजाम्बिक, अंगोलालगायतका आफ्ना उपनिवेशहरूबाट आफूलाई अलग गर्यो । त्यसले आमन्त्रण गर्ने अस्थिरता र अराजकताकै क्रममा अंगोला र मोजाम्बिकका कम्युनिस्ट पार्टीहरूमाझ क्युवाको प्रभाव र सक्रियतामा अकस्मात वृद्धि भयो ।
जिम्बाब्वेका मर्क्सवाद, लेनिनवादमा विश्वास गर्नेहरू छिमेकी मोजाम्बिकमा गएर आफ्नो सांगठानिक गतिविधिहरू सञ्चालन गर्न थाले । त्यसपछि अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जर र ब्रिटिस विदेशमन्त्री डेभिड ओवेनका अस्वेतहरूको बहुमतको शासन स्थापनागर्ने क्रममा भएका विभिन्न सफल असफल वार्ता प्रयासहरू हुँदै अन्त्यमा रोडेसियाका दुवै समुदायमाझ एउटा सहमति भयो । सो सहमतिअनुसार १ जुन १९७९ मा इयान स्मिथले पदत्याग गरे र बिसप मुजोरेवा अन्तरिम प्रधानमन्त्री भए । मुगावेको सत्तारोहणको बाटो त्यसैले खोल्यो ।
असीमित सम्भावना भएको जिम्बाब्वेको विनास यात्रा
लामो जेलजीवन र निर्वासनपछि १९८० मा रोबर्ट मुगावे शासनमा आउँदा धेरैलाई अर्को नेल्सन मन्डेलाको उदय भएको लागेको थियो । मुगावे सरकारमा आउनुअघि जिम्बाब्वे सो क्षेत्रकै खाद्य भण्डार थियो र औद्योगिक र व्यवसायिक केन्द्र थियो भनेर विश्वकै प्रतिष्ठित दैनिक मानिने ब्रिटेनको फिनान्सियल टाइम्समा डेभिड पिलिंगले हालै लेखेका छन् ।
जनताको नाममा सस्ता नाराहरू दिने लोभ मुगावेले त्याग्न सकेनन् । मुलुकको अर्थतन्त्रको स्वास्थ्य पनि जनताकै दीर्घकालीन हित र सुरक्षाको आधार हो भनेर संसारका धेरै शासकहरूले जस्तै उनले पनि बुझेनन् । फलस्वरूप शिक्षा र स्वास्थ्यको क्षेत्रमा जिम्बाब्वेका सफलताहरू निरन्तर ओरालो लागेको अर्थतन्त्रले अर्थहीन बनाइदियो ।
एकदशक पनि नबित्दै मुगावेका प्रभाव र आकर्षण जनता माझ हरायो । तर सेनासहित सरकारमा आएका मुगावेले आफ्नो राजनीतिक सेनाको दुरुपयोग गरेर एकातिर राजनीतिक विमतिहरूविरुद्ध दमन चक्र चलाए । अर्कोतिर उनले मुलुकको ढुकुटी आफ्ना समर्थक र प्रशंसकहरूका लागि खुला गरिदिए।
सस्तो लोकप्रियताका लागि मुगावेले स्वेतहरूको स्वामित्वमा रहेका असाधारण उत्पादन क्षमता प्रदर्शन गरिरहेका ठूलाठूला व्यवसायिक कृषि र पशुपालन फार्महरू खोसेर अस्वेत समुदायलाई वितरण गरिदिए । त्यसले केही समयमै कृषि उत्पादनलाई स्वात्तै घटाइदियो । त्यसमाथि लामो सुक्खा खडेरी समेत थपिँदा र त्यसको समाधानको निजी र सरकारी कुनै प्रयास हुन नसक्दा क्षेत्रको खाद्य भण्डारको रूपमा रहेको जिम्बाब्वे इतिहासकै ठूलो अनिकालबाट पीडित हुन पुग्यो ।
अंगोलामा २८ वर्षसम्म चलेको गृहयुद्ध र मोजाम्बिकले आफ्नो रणनीतिक खाद्य भण्डारबाट सबै अनाज बिक्री गरेपछि जाम्बिया, मोजाम्बिक, लेसोथो, स्वाजिल्यान्डलगायतका मुलुकले इतिहासकै सबैभन्दा ठूलो अनिकाल बेहोरे । एक करोड भन्दा बढी मानिस भोकै मर्ने अवस्था आएपछि विश्व खाद्य कार्यक्रम र राष्ट्रसंघीय खाद्य र कृषि संगठनले ४० लाख टन खाद्यान्न सहायता कार्यक्रम सञ्चालन गरेको थियो ।
क्याटो इन्स्टिच्युटद्वारा २५जुन २००८मा प्रकाशित एउटा अध्ययनअनुसार निरन्तरको संकटबाट मुक्ति पाउने उद्देश्यले मुगावेले केन्द्रिय बैंकलाई असीमित रूपमा नोट निष्कासनको लागि दबाब दिए । परिणाममा जिम्बाब्वेको मुद्रा कागजको भाउमा पनि नबिक्ने भएपछि २००९ मा आएर मुगाबेले आफ्नै राष्ट्रिय मुद्राको प्रचलनलाई बन्द गरे । अमेरिकी डलरलगायतका अन्य अन्तर्राष्ट्रिय मुद्रासहित नौ मुलुकका मुद्रा प्रचलनमा आउने व्यवस्था गरियो । जनताको सुविधाका लागि भनेर बजारमा रहेका जिम्बाब्वे डलरहरू भने चलन चल्तीमा नै रहन दिइयो, बिडम्बना के रह्यो भने एक अमेरिकी डलर बराबर ३५ क्वाड्रिलियन (३५ पछि १५ वटा शून्य) जिम्बाब्वे डलरको सटही दर कायम भएकोबारे १२ जुन २०१५मा सीएनएन मनीले उल्लेख गरेको थियो ।
जिम्बाब्वेको सरकारी आँकडालाई नै आधार मानेर क्याटो इन्स्टिच्युटले दिएको विवरणअनुसार जिम्बाब्वेको मुद्रस्फीतिको वार्षिक दर एक लाख ६५ हजार प्रतिशत थियो । तर गैरसरकारी क्षेत्रका आँकडाअनुसार त्यस्तो मुद्रास्फीतिको दर प्रतिवर्ष २५ लाख प्रतिशत थियो । जिम्बाब्वेको मुद्राको ९९.९ प्रतिशत मूल्य हराएको थियो ।
यसबाट उठेको जनअसन्तोषलाई दबाउन मुगावेले अनियन्त्रित हिंसाको सहयोग लिए । विपक्षीहरू र उनीहरूका हजारौंहजार समर्थकहरूको निर्मम हत्या भयो । लामो समयदेखि सरकार र सत्तारूढ दलद्वारा संरक्षित र प्रवर्धित हिंसाले जिम्बाब्वेको सम्पूर्ण राज्य संरचनाहरूलाई भ्रष्ट, भग्न र सडेको अवस्थामा पुर्याएकोबारे निष्पक्ष पर्यवेक्षकहरूले गरेका धेरै अध्ययन र अनुसन्धानले पुष्टि गरेका छन्।
मुगाबे जानु—पिएफ पार्टीको घोषणा पत्रमार्फत एक पार्टी प्रणालीको साम्यवादी व्यवस्था स्थापना गर्न चाहन्थे । तर त्यस्तो एक पार्टी प्रणालीको विरुद्ध उभिने आफ्नै पार्टीको संस्थापक नेता जोसुवा एन्कोमोलगायत सबैलाई एकएक गर्दै हिंसात्मक उपायले ठेगान लगाउँदै मुगावे अघि बढे ।
वाम अधिनायकवादको अभ्यास र शिक्षा
भेनेजुएलामा कम्युनिस्ट नेता ह्युगो चाभेजले १९९८ देखि २०१३ सम्म लगातार शासन गरे । उनीपछि उनकै अनुयायी निकोलस मदुरो राष्ट्रपति छन् ।क्याथलिन सुस्टरले जर्मनीको अन्तर्राष्ट्रिय प्रसारण संस्था डच विलेलेमा तेल उत्पादक राष्ट्रहरूको संगठन ओपेकको अध्ययनलाई आधार मानी अप्रिल २०१७मा उल्लेख गरेअनुसार भेनेजुएला साउदी अरबको भन्दा पनि ठूलो तेल भण्डारको स्वामी हो । तर त्यहाँका ५० प्रतिशत जनता गरिबीको रेखामुनी छन् । उत्तम सुन, हीरालगायत बहुमूल्य खनिज सम्पदाको विराट भण्डार, उत्तम कृषि योग्य जमिन भैकन पनि जिम्बाब्वेको अवस्था उस्तै छ । दुवैमा कम्युनिस्ट शासक, समाजवादी राष्ट्र र दुवैमा लामो समयसम्म यौटै दल र व्यक्तिको शासन हुँदाको अवस्था हो त्यो ।
अकूत सम्पत्ति जोड्ने, विलासी जीवनप्रतिको अत्यधिक मोह, अनेकौं ठूलाठूला भ्रष्टाचारहरू र महत्वपूर्ण राज्य नियुक्तिहरूमा हुने ठूलो धनराशीको लेनदेनमा संलग्नताले मुगावेलाई आम जनतामाझ अलोकप्रिय बनाएको बताइन्छ ।
मुगावेको आदेशमा स्वतन्त्रता संग्रामको लामो यात्रादेखि सँगै रहेका अनेकौं वरिष्ठ नेताहरूको हत्या भएको सन्दर्भमा उपराष्ट्रपतिको हत्याको सम्भावनाले पनि दल र सेनामा राम्रो प्रभाव भएका मनांगाग्वाको जीवन रक्षाको लागि पनि सैनिक हस्तक्षेप भएको विश्लेषकहरूले बताएका छन् ।
एउटा विचित्रको स्थिति यसकारण पनि छ कि सेना प्रमुख कन्स्ट्यान्टिनो चिवेन्गाले सत्ता आफ्नो हातमा लिएका छैनन् । कुनै राजनीतिक महत्वाकांक्षा प्रदर्शन गरेका छैनन् । राष्ट्रपतिको अति नै वृद्धावस्थाको फाइदा लिएर उनकी महत्वाकांक्षी पत्नी ग्रेस मुगावेको नेतृत्वमा पार्टीका नेता तथा कार्यकर्ताहरू, प्रहरी र सरकारका बफादार मन्त्रीहरूमध्येबाट संगठित जानु—पिएफको जी ४० गुटले अकस्मात कुनै षड्यन्त्रद्वारा सत्ता कब्जा गर्ने स्थिति आउन नदिन र उक्त गुटमा आवद्ध आपराधिक चरित्रका मानिसहरूबाट राष्ट्रपतिको सुरक्षाका लागि मात्र उसले हस्तक्षेप गरेको बताइएको छ । जी ४० को क्रियाकलापबाट त्रसित जनताले सेनाको कुरा पत्याएको देखिन्छ ।
सत्तामा आएपछि आजीवन सत्तामा रहनुपर्ने, भ्रष्ट अभ्यासहरूद्वारा र राष्ट्रका सबै अवसरमा आफू र आफ्ना निकटका व्यक्तिहरूमा केन्द्रित गर्ने, त्यस्ता अवसर योग्यता र क्षमताको आधारमा नभएर जातीय निकटता र आर्थिक लेनदेनको आधारमा हुने अवस्थाले मुगावे नेतृत्वको जिम्बाब्वे त्यस्तो नियतिको सिकार बन्न पुग्यो ।
उन्नत र असाधारण कृषि सम्भावना भएका क्षेत्रमा मानव बसोवास र उद्योग स्थापनामा दिइएको प्राथमिकताले जिम्बाब्वेको कृषिलाई ध्वस्त पार्यो । राम्रोसँग चलिरहेका उद्योगहरूलाई राष्ट्रियकरण गरेर तिनमा अनावश्यक संख्यामा राजनीतिक नियुक्ति गर्ने, राजनीतिक आस्थाको आधारमा अदक्ष श्रमिकलाई त्यस्ता उद्योगमा भर्ना गर्ने र उनीहरूका माध्यमबाट हुने अराजक ट्रेड युनियन गतिविधिले औद्योगिक प्रतिष्ठानहरूलाई छिन्नभिन्न बनाएर तिनलाई मुलुकको अर्थतन्त्रको श्रापमा रुपान्तरण गरिदिए।
मुलुकमा प्रशस्त कच्चापदार्थ उपलब्ध हुने वस्तुमा आधारित उद्योग स्थापना गर्नुको साटो त्यस्ता कच्चापदार्थ सत्तारुढ दल र तिनका नेतानिकटका व्यक्तिलाई मालामाल बनाउने उद्देश्यले कौडीको मूल्यमा निर्यात गर्ने अनुमति दिने अनि आफ्ना उद्योगलाई महँगो कच्चापदार्थ आयात गरेर चलाउने गरिएकोले त्यस्ता उद्योगबाट उत्पादित सामग्री अन्य मुलुकका उत्पादनसँग प्रतिष्पर्धा गर्न नसकेर ती उद्योगहरूका घाटा बढ्दै गयो । मुलुक झनझन् जर्जर बन्न पुग्यो ।
साधन र स्रोतविहीन भएर पनि उत्साहजनक सफलता आर्जन गरेका कतिपय अफ्रिकी मुलुकहरूको तुलनामा साधन र स्रोतले भरिपूर्ण राष्ट्रमा एउटा वामपन्थी राष्ट्रपतिले ३७ वर्ष शासन गर्दा पनि त्यहाँको कुल गार्हस्थ उत्पादन १४ अर्ब डलरबराबर र प्रतिव्यक्ति आम्दानी छ सय डलरको आसपास हुनुबाट नेपालले पनि गम्भीर शिक्षा लिन सक्छ ।
मुगावे जालान, तर उनको उत्तराधिकारीको रूपमा क्रोकोडायल भनेर चिनिने र निष्कासित उपराष्ट्रपति मनांगाग्वा पनि मुगाबेको दलका प्रमुख नेता रहेका, मुगावे शासनकालका सबै हिंसा, दमन र आर्थिक विचलन र भ्रष्टाचारमा मुछिएका कठोर छविका शासक हुन् ।
जिम्बाब्वे, भेनेजुएला वा उत्तर कोरियाले लामो राजनीतिक स्थिरता दिए, तर देश र जनताको अवस्थाबारे थप भनिरहन आवश्यक छैन । राजनीतिक स्थिरता र समृद्धिको आकर्षक नारा र सपना पस्किएकै भरमा जो कसैलाई स्वीकार्न सकिन्न भन्ने शिक्षा नेपालका लागि जिम्बाब्वे, भेनेजुएला वा उत्तर कोरियाले दिएका छन् ।
-भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्र्याटजिक स्टडिज (निस)सँग सम्बद्ध छन् ।
Annapurna Post